Home स्वास्थ्य/शिक्षा शैक्षिक गतिविधी पुरानो नक्सा भएका पुस्तक बिक्री नगर्न पाठ्यक्रम विकास केन्द्रको निर्देशन, जनक शिक्षा सामग्री केन्द्रकै पुस्तकमा नै पुरानो नक्सा

पुरानो नक्सा भएका पुस्तक बिक्री नगर्न पाठ्यक्रम विकास केन्द्रको निर्देशन, जनक शिक्षा सामग्री केन्द्रकै पुस्तकमा नै पुरानो नक्सा

0
पुरानो नक्सा भएका पुस्तक बिक्री नगर्न पाठ्यक्रम विकास केन्द्रको निर्देशन, जनक शिक्षा सामग्री केन्द्रकै पुस्तकमा नै पुरानो नक्सा

असार १४, काठमाडौँ । सरकारले पाठ्यक्रमका पुस्तकलगायत अन्य कुनैपनि पुस्तकमा नयाँ नक्सा (चुच्चे नक्सा) नराखिएका पुस्तकलाई बिक्री वितरण गर्न रोक लगाइसकेको छ । तर विडम्बना सरकारी पुस्तकमा नै पुरानो नक्साको प्रयोग भएका पुस्तक वितरण भइरहेको जानकारी आउन थालेका छन् । सरकार आफैँ निर्णय गर्ने तर सरकारी पुस्तकमा नयाँ नक्सा अद्यावधिक हुन नसक्नुले प्रकाशन गृहको लापरबाही देखिन्छ । निजी प्रकाशन गृहहरुले छापेका पुस्तकमा नयाँ नक्सा नभए पुस्तक फिर्ता गर्नेपर्ने निर्देशन दिइसकेको छ ।

लिपुलेक, कालापानी र लिम्पियाधुरा नसमेटिएको नेपालको पुरानै नक्सा भएको पाठ्यपुस्तक विद्यार्थीलाई वितरण भइरहेको पाइएको छ । लिम्पियाधुरासम्मकै क्षेत्र समेटर नयाँ नक्सा एक वर्षअघि नै जारी गरिएको भए पनि सरकारले निःशुल्क वितरण गर्ने पाठ्यपुस्तकमै नक्सा अद्यावधिक नगरिएको हो ।

जनक शिक्षा सामग्री केन्द्रका सामाजिक पुस्तकमा पुरानै नक्सा

जनक शिक्षा सामग्री केन्द्र र निजी प्रकाशन गृहले सामाजिकलगायत विषयको पाठ्यपुस्तकमा पुरानै नक्सा छापेको स्रोतले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रको अध्यक्ष नै शिक्षामन्त्री रहने व्यवस्था छ । नयाँ शैक्षिक सत्रमा पुरानो नक्साको प्रयोग गरी पुस्तक प्रकाशन गरी बिक्री वितरण गरे कारबाही गर्न निर्देशन पाठ्यक्रम विकास केन्द्रले निर्देशन दिइसकेको थियो ।

तर जनक शिक्षा सामग्री केन्द्रले प्रकाशन गरि बिक्री वितरण गरिएका ५ र ९ काे सामाजिक पुस्तकमा पुरानै नक्सा राखे प्रकाशन गरिएकाे पाइएकाे छ ।

अनुगमन समितिमा सहभागी अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले भने, ‘कुनै पुस्तकमा नयाँ, कुनैमा पुरानो नक्सा राखेर बिक्रीवितरण भइरहेको छ । एउटै पुस्तकको पनि कभरमा नयाँ र भित्र पुरानो नक्सा राखिएको पाइयो ।’ उनले थपे, ‘पाठ्यपुस्तकमा पनि संवेदनशील भएको पाइएन, अनियमितता र मनपरी भेटियो ।’
भण्डारीले सरकारी तहबाट निर्णय गर्ने र सरकारी प्रकाशन गृहले नै नियम पालना नगर्ने जस्ता लापरबाही गरेको बताए ।

अनुगमनमा २०६८ सालमै छापिएका पुस्तक वितरण भएको देखिन्छ । यता जनक शिक्षा सामग्रीले भने पाठ्यपुस्तक जिल्ला जिल्लामा पुगिसकेकोले यो शैक्षिक सत्रमा नयाँ नक्सा राख्न सम्भव नहुने जानकारी गराएको छ । सरकारले आधिकारिक क्षेत्रफल सार्वजनिक नगरेकोले पुस्तकमा नयाँ कायम भएको क्षेत्रफल राख्न नसकिएको पाठ्यक्रमका एक अधिकारी बताएका छन् । नक्सा त नयाँ राख्ने तर क्षेत्रफल कति भन्ने बारे विद्यार्थी अलमलमा पर्ने गरेको गुनासो शिक्षकहरुले गर्ने गरेका छन् ।

पाठ्यपुस्तकमा उल्लेख गरिएको वास्तविक मूल्यलाई केरमेट गरेर बढी मूल्यमा बिक्री गरेको समेत पाइएको अनुगमन समितिले जनाएको छ । कतिपय प्रकाशकले भने पुस्तकको मूल्य नै उल्लेख नगरी विक्रेतालाई मनोमानी बिक्री गर्न छुट दिएका छन् । बालबालिकालाई आवश्यकताभन्दा बढी पाठ्यपुस्तक किन्न बाध्य पारिएको समेत भेटिएको छ । अध्यक्ष भण्डारीले भने, ‘कक्षा १ का विद्यार्थीलाई १० वटासम्म किताब किन्न लगाएका रहेछन् ।’ उनले थपे, ‘पाठ्यक्रम विकास केन्द्रले ४ वटा मात्रै किताब तोकेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here