असार १४, काठमाडौँ । बेल्जियमकाेतर्फबाट थोर्गन हाजार्डको निर्णायक गोल गरी पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको अन्तिम १६ को खेलमा विश्व नम्बर एक बेल्जियमले पोर्चुगललाई १–० ले पराजित गरेको हो । २०१६ को विजेता पोर्चुगल भने पहिलो पटक क्वाटरफाइनल पुग्न असफल भएको छ ।
सेभियास्थित ला कार्टुजा स्टेडियमा भएको खेलमा हाजार्डले एक मात्र गोल गरे । खेलको ४२औं मिनेटमा हाजार्डले उत्कृष्ट गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । उनले थोमस मुनिएले उपलब्ध गराएको पासबाट गोल गरेका हुन् ।
समूह चरणको तीनवटै खेलमा गोल गरेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले यस खेलमा भने गोल गर्न सकेनन् ।
क्वाटरफाइनलको चरणमा अब पोर्चुगलले इटलीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।