सञ्चार हाउस, काठमाडौं
विश्वमै विकसित भइरहेको विज्ञान प्रविधि र सूचना प्रविधीको विकास सँगै आम जनसमुदायमा मोवाइलको पहुँच सहज भएको छ । आज भोली बालबालिकाहरुले धेरै समय मोबाइलमा बिताएको पाइन्छ । अझ कोभिड – १९ को महामारीले गर्दा विश्वभर नै भइरहेको निषेधाज्ञाले गर्दा प्राय विद्यालहरुले पनि अनलाइन कक्षा सञ्चालन गरिरहेको परिप्रेक्षमा एक विद्यार्थीको लागि एक मोवाइल अपरिहार्य भएसकेको छ । यसले पनि बढी भन्दा बढी समय बालबालीकाको हातमा मोवाइल हुनु स्वाभाविक बन्यो ।
त्यस्तै अभिभावकको लागि पनि बालबालिकालाई भुल्याउने गतिलो माध्यम बनेको छ, मोबाइल । आफू पनि मोबाइलमा ब्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेल्न दिने धेरै अभिभावकहरु छन् । अथवा आफ्नो काममा बालबालिकाले डिस्टर्व नगरोस् भनेर पनि बच्चालाई मोवाइल खेल्न दिने गर्छन् अभिभावकहरु । जसले गर्दा बिस्तारै मोबाइल खेलाउने बालबालिकामा लत बस्न थाल्छ । अनि बालबालिका मोबाइल बिना केही पनि गर्न मान्दैनन् ।
धेरै समय मोबाइल चलाउनाले बालबालिकाको मानसिक तथा शारीरिक विकासदेखि धेरै कुरामा असर परिरहेको हुन्छ । यो कुराको बारेमा अभिभावकले समयमै ध्यानदिनु जरुरी छ ।
मोबाइल चलाउनु पनि एककिसिमको नसा हो ।
मोबाइल चलाउनु पनि एकप्रसारको नसा हो । जसरी नसालु पदार्थ सेवन गर्दा शरीरमा विभिन्न खालको असर देखिन्छ मोबाईल चलाउदा पनि बालबालिकाको शरीरमा त्यस्तै असर देखिन्छ ।
सुरुवातमा मोबाइल चलाउदा बालबालीकाको मस्तिस्कले केमिकल रिलिज गर्दा खुशी बनाउने खालको हर्मोन बनाइदिन्छ । जसले गर्दा सुरुवातको समयमा मोबाइल चलाउदा खुशी हुन्छन् बालबालिका । तर लगातार मोबाईल हेर्दा ब्रेन सुस्त हुर्दै जान्छ ।
मोबाइल चलाउने नसा लागेको बालबालिकामा विभिन्न नकारात्मक असरहरु देखिन थाल्छ । मोबाइलको समस्या सानोदेखि ठूला व्यक्तिहरुमा पनि भइरहेको हुन्छ । प्रविधिको स्वस्थकर प्रयोगका लागि बेलुकी खानाको समय र सुत्ने समयमा मोबाइल फोनको प्रयोग नगर्न ब्रिटेनका स्वास्थ्य प्रमुखहरूले सुझाव दिएका छन्।
ब्रिटेनको नयाँ निर्देशिकाका अनुसार बालबालिकाहरूलाई एक पटकमा दुई घण्टाभन्दा लामो समय मोबाइल फोन वा टिभी हेर्न दिनु उचित छैन। अझ उनीहरूले मोवाइल उत्पादन कम्पनीहरूलाई बालबालिकालाई सुरक्षित राख्न थप सावधानी अपनाउन समेत सुझाव दिएका छन्।
मानसिक समस्या
साना बालबालिकाको हकमा कुरा गर्ने हो भने उनीहरुलाई भुलाउनको लागि र छिमेकीको सन्तान भन्दा आफ्नो सन्तान कुनै पनि कुरामा कमजोर नहुन् भन्ने जस्ता अस्वस्थ प्रतिस्पर्धाले पनि अभिभावकले मोबाइल दिने गरेको पाइन्छ । काम गर्नको लागि पनि बालबालिकालाई मोबाईल दिने र आफू काममा लाग्ने अभिभावकहरु धेरै भेटिन्छन् । कति अभिभावको सोच त मोवाइल बाट छोराछोरीले धेरै नयाँ नयाँ कुरा सिक्छन् भन्ने पनि रहेको पाइन्छ । तर जति सानो उमेरमा मोबाइल चलायो त्यतिधेरै असर भइरहेको हुन्छ ।
निरन्तर मोबाइल हेरिरहँदा आँखाको मसल थाक्ने, आँखु आउने, राम्रोसँग हेर्न नसक्ने, चिलाउने, टाउको दुख्ने, आँखा सुनिने जस्ता समस्याहरु आउँछन् ।
लामो समयसम्म मोबाइल हेरिरहँदा मोबाइलबाट निस्कने रेडिसनले आँखालाई अन्धो बनाउन पनि सक्छ । आँखामा मात्रै होइन ब्रेनमा पनि असर गर्छ । जसले गर्दा आँखा धमिलो हुँदै जाने, आँखा चिलाउने, आँखा वरिपरिको मासुहरु थाक्ने, आँखा हेर्न नसक्ने निन्द्रा लाग्ने जस्ता विभिन्न समस्याहरु आउँछन् ।
यसले विस्तारै बालबालिकाको ब्रनेलाई सुस्त बनाइदिन्छ । जसले गर्दा बालबालिकाको अध्ययनमा समस्या देखिन्छ । यसरी धेरै मोबाईल हेर्ने बानी भएको बालबालिकामा डिप्रेशनसम्म हुनसक्ने सम्भावना हुन्छ । ठूला बालबालिकाको हकमा कुरा गर्ने हो भने मोबाइलले गर्दा एक्लै बस्ने, आफ्नो परिवारको सदस्यसँग कुरा नगर्ने जस्ता समस्याहरु लामो समयसम्म देखिन्छ ।
शारीरिक समस्या
बालबालिकाले सबै कुरा आफू भन्दा ठूला व्यक्तिहरुसंग सिक्दै जाने हो । बालबालिकाको वृद्धि विकाससँगै मानसिक, शारीरिक र सामाजिक रुपमा पनि विकास हुनुपर्ने समय हो यो । तर मोबाइल खेल्न दिएपछि बोल्न जरुरी हुँदैन जसले गर्दा बालबालिकामा बोलीको विकास हुँदैन । हिँडाइमा समस्या हुन्छ । जति बालबालिकाको उमेर अनुसार विकास हुनुपर्ने हो त्यति भएको पाइँदैन ।
बालबालिकाको शरीरको विकास जति खेल्न सक्यो त्यति धेरै हुन्छ तर मोबाइल दिएको बालबालिका एकै ठाँउमा बसेर हेरिरहेको हुन्छन् । जुन कुराले गर्दा बालबालिका हिँड्नु पर्ने समयमा हिँड्न सक्दैनन् ।
एकै ठाँउमा बसेर मोबाइल हेरेर खाना खाँदा मोटोपनको सिकार हुने, समयमा खाना नखाइदिने हुँदा बालबालिका शारीरिक रुपमा दुब्लो हुने सम्भावना पनि हुन्छ । जति समयमा बालबालिकाको विकास हुनु पर्ने त्यसलाई मोबाइलको लतले एकदमै असर गर्छ ।
यसरी छुटाउन सकिन्छ
अत्याधिक लत बसेपछि मात्रै मोबाइलको प्रयोगले विभिन्न नकारात्मक असर देखाउने गर्छ । तर अन्य प्रकारको नसालु पदार्थ जस्तो छुटाउनै नसक्ने अवस्थाको भने हुँदैनन् । मोबाइलको लत बसको बालबालिकालाई छुटाउनु भयो भने ब्रेनले पनि नियमित रुपमा काम गर्छ ।
मोबाइलको लत बसेको बालबालिकालाई एकै पटक लत घटाउन निकै गाह्रो हुन्छ । यदी तपाईँको बालबालिकामा मोबाइल चलाउने लत बसेको छ भने एकै पटक छुटाउने कोसिस पनि नगर्नुस् ।
एक घण्टा, आधा घण्टा गरेर विस्तारै मोबाइल चलाउने समय घटाउँदै लगेर यसको लत छुटाउन सकिन्छ । जसले गर्दा साथीसँग बोल्ने र खेल्ने गर्न थाल्छन् भने शारीरिक तथा मानसिक विकास पनि राम्रो हुन्छ ।
मोबाइलको सट्टा बालबालिकालाई खेल्ने कुराहरु किनिदिनुस् । चित्रहरु कोर्न दिन पनि सकिन्छ । यस्तै अभिभावकले प्रशस्त समय दिने, होमवर्क गर्न सघाउने जस्ता कुराले पनि मोबाईलको लत छुटाउन सकिन्छ ।
कुरा बुझ्न सक्ने बालबालिकाको हकमा कुरा गर्ने हो भने मोबाईल हेर्दा कस्तो असर गर्छ भन्ने विभिन्न जानकारी मुलक कुराहरु देखाउन सकिन्छ । यस्तै मोवाइल चलाउदा भएका समस्याहरु उदाहरणसहित बुझाएर लत हटाउन सकिन्छ ।
ब्रिटेनको स्वास्थ्य निर्देशिकाले पनि खाना खाने टेबुलमा मोबाइल फोन वर्जित गर्ने, शयनकक्षबाट मोबाइल र टिभी टाढा राख्ने, परिवारमा इन्टरनेटका जोखिमहरू र बालबालिकाले समस्या परेमा के गर्ने भनेर छलफल गर्ने, सडक काट्दा वा सवारी हाँक्दा मोबाइल फोन प्रयोग नगर्ने, दुई घन्टाभन्दा लामो समय मोबाइल वा टिभी लगातार प्रयोग नगर्ने, अभिभावकले आफ्नो प्रयोग पनि नियन्त्रण गर्ने – अभिभावकले बालबालिकालाई समय दिनु पर्ने जस्ता सुझावहरु दिएको छ । त्यस्तै सामाजिक सञ्जालका निर्माताहरुले समेत साइटमा धेरै भन्दा धेरै सकारात्मक सामग्रि मात्र देखिने तरिकाले प्रविधीको विकास गर्नु पर्ने समेत वताएको छ ।
विद्यालयले पनि मोबाइल प्रयोगले बालबालिकामा पार्ने नकारात्मक असरको बारेमा जानकारी गराउँदा हीतकर हुन्छ । आफ्नो बालबालिकालाई मोबाइलमा लत लागेको बारेमा अभिभावकलाई जानकारी हुन्छ, त्यसकारण बालबालिकालाई मोबाइल भन्दा अन्य कुरामा भुल्याउँदा राम्रो हुन्छ ।