Home समाचार मुख्य समाचार कांग्रेसमा महाधिवेशन छलफल सुरुः देउवाले आज ३ वटा प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै

कांग्रेसमा महाधिवेशन छलफल सुरुः देउवाले आज ३ वटा प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै

0
कांग्रेसमा महाधिवेशन छलफल सुरुः देउवाले आज ३ वटा प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै
असार ७, काठमाडौँ । भदौमा हुने महाधिवेशनमा शेरबहादुर देउवा फेरि सभापति उठ्ने तयारी थालेका छन् । महाधिवेशन तयारीको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका छन्।
शनिबारदेखि देउवाले प्रदेशअनुसार केन्द्रीय सदस्यलाई भेट गरेर आफू महाधिवेशनमा सभापति उठ्ने र आफूलाई सहयोग गर्न अपील गरिरहेका छन् । देउवानिकट एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार बुढानिलकण्ठमा बिहान ९ बजे देउवाले केन्द्रीय सदस्यका लागि बोलाएका छन् ।
आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका आफूनिकट केन्द्रीय सदस्यहरूसँग देउवाले कुराकानी गर्न लागेका छन्।
आइतबार देउवाले बागमती र गण्डकी प्रदेशका आफूनिकट केन्द्रीय सदस्यसँग कुराकानी गरेका थिए भने शनिबार प्रदेश नम्बर १ र २ का केन्द्रीय सदस्यसँग कुराकानी गरेका थिए।
देउवाले पार्टी चलाएको र प्रधानमन्त्रीसमेत भएर अनुभव हासिल गरेकोले आफू पुनः एक कार्यकाल कांग्रेस नेतृत्वमा रहन चाहेको बताइरहेका छन्।
कांग्रेसले भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेपछि देउवाले सक्रियता बढाएका हुन्। यसपटक सभापतिमा देउवा समूहकै दुई जना नेताले दाबी गरिरहेका छन्।
उपसभापति विमलेन्द्र निधि र संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले सभापतिमा दाबी गरेका छन्। उनीहरू लामो समयदेखि देउवालाई सघाउँदै आएका थिए।
आफ्नो समूहलाई एकजुट बनाउँदै लैजान देउवालाई उनीनिकटका केन्द्रीय सदस्यले सुझाव दिइरहेका छन्। निधि र श्रेष्ठलाई पनि साथै लिएर अघि बढे मात्रै महाधिवेशन जित्न सकिने र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको सहयोग पनि लिनुपर्ने सुझाव केन्द्रीय सदस्यहरूले राखेका छन्।
देउवाले सबैको कुरा सुनेर आफ्नो समूहभित्र छलफल गरी सभापतिमा उम्मेदवारी दिनेबारे औपचारिक घोषणा गर्ने बताइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here