असार ४, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुनेमा विश्वस्त हुन आग्रह गरेका छन् । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा देउवाले तोकिएकै समयमा महाधिवेशन हुने दाबी गरे ।
भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका केन्द्रीय समितिबाट अनुमोदन गरका छन् । उक्त कार्यतालिका अनुमोदन गरेपछि देउवाले भने, ‘महाधिवेशन कुनै पनि हालतमा हुन्छ । १९ को २० हुँदैन, बरु १८ मा नै हुन्छ । महाधिवेशन कुनै पनि हालतमा सर्दैन ।’
बैठकमा नेताहरुको बोल्ने क्रम चलिरहेका बेला बीचबीचमा आफ्नो धारणा राख्दै कांग्रेस सभापति देउवाले महाधिवेशनबारे आशंका नगर्न नेताहरुलाई आग्रह गरेका हुन् ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि विपक्षी गठबन्धनलाई बलियो बनाउँदै लैजानु पर्ने धारणा राखेका थिए ।
महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेका दुवै प्रस्ताव एकमतले पारित भएको नेताहरुले बताएका छन् । नेताहरुले पार्टीको महाधिवेशनलाई आन्दोलनको रूपमा अगाडि लैजानु पर्ने धारणा राखेका थिए । सरकारको अधिनायकवादी र सर्वसत्तावादी सोचविरुद्ध तल्लो तहसम्म जनताका बीचमा जानुपर्ने मत कांग्रेस नेताहरूको थियो ।
कांग्रेस केन्द्रीय समितिबाट पारित महाधिवेशनको कार्यतालिका अनुसार गाउँ÷नगर वडा अधिवेशन साउन १२ गतेबाट सुरु हुनेछ ।
त्यस्तै दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते हुनेछ । यस्तै क्रियाशील सदस्यता टुंग्याउन छानविन समितिलाई असार २० गतेसम्मको समय दिइएको छ ।