ह्वेल माछाले निलिसकेपछी बाँच्ने सम्भावना सायदै हुँदैन । तर मृत्युको दिन आइपुगेको रहेनछ भने मानिस कालको मुखबाट पनि फुत्किन सफल हुँदा रहेछन् । यस्तै घटना अमेरिकामा भएको छ । समुद्रमा डाइभ हानिरहेका गोताखोरलाई ह्वेल माछाले निलेर पनि ओकलेको छ ।
एकजना व्यवसायिक गोताखोरलाई केप कोडस्थित तटीय क्षेत्रमा शुक्रबार बिहान हम्पब्याक ह्वेल माछाले निलेको थियो । ५६ वर्षका माइकल प्याकार्ड नामक ती गोताखोरलाई समुद्रमा १४ मिटरको गहिराइमा रहेको बेला ह्वेल माछाले खाएको थियो ।
उनी पानीमुनि पौडिरहेको बेला एक्कासी केहीभित्र छिरेर अँध्यारो भएसँगै उनले आफूलाई सार्क माछाले खाएको हो कि भन्ने ठाने । सो ठाउँ धेरै सार्क पाइने ठाउँ हो । तर जीउमा कुनै दुखाई महसुस नभएको तथा सार्कको दाँतजस्तो घोचाई पनि महसुस नभएपछि उनले थाहा पाए कि उनी ह्वेलको मुखभित्र रहेको चाल पाए ।
आफूलाई ह्वेलले निल्ने कोसिस गरिरहेको थाहा पाएपछि उनलाई अब बाँच्दिन भन्ने लाग्यो । त्यो क्षण उनले आफ्नी पत्नी तथा बच्चाबच्चीलाई सम्झिए । झण्डै ३० सेकेण्ड जति आफू ह्वेलको मुखभित्रै रहेको उनी बताउँछन् । श्वास फेर्ने मेसिनसँगै ह्वेलले उनलाई मुखभित्र हालेको हुनाले उनले ह्वेलको मुखभित्र रहँदा पनि श्वास फेर्न पाए ।
ह्वेलले आफूलाई निल्छ भन्नेमा उनी ढुक्क थिए । तर सौभाग्य, ह्वेलमाछा पानीको सतहमा आयो, टाउको हल्लायो र उनलाई बाहिर थुकिदियो ।
उनलाई तत्कालै नजिकै रहेका उनका सहकर्मीहरुले उद्दार गरे । ह्वेलले मुखभित्र हाल्ने र बाहिर जोडसँग थुक्ने क्रममा उनको खुट्टामा केही चोट लागेको छ ।
विज्ञका अनुसार ह्वेलले यसरी मानिसलाई मुखभित्र हालेको घटना निकै दुर्लभ हो । हम्पब्याक ह्वेल रिसाहा प्रकृतिको नहुने भएकोले माछा भन्ठानेर गोताखोरलाई निल्न खोजेको हुनसक्ने विज्ञहरुले अनुमान गरेका छन् ।
एपीन्यूजको सहयाेगमा