सञ्चार हाउस, काठमाडौ–जेठ २० । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप गर्ने निर्णय भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले संयुक्त रुपमा बैठक बसी बुधवारदेखि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । अब जेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा लागु हुने उपत्यका जिल्ला अधिकारीहरुले बताए ।
जेठ १४ गतेबाट थप कडाइ गर्दै खाद्यान्न तथा किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न नपाउने निर्णय गरेको थियो । २१ गते बाट खाद्यन्नसम्बन्धी पसलहरु र वर्कसपहरु बिहान ९ बजेसम्म खोल्न पाउने गरी निर्णय गरिएको प्रजिअहरुले बताएका छन् ।
बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी थिए । सार्वजनिक निर्माणलाई खुल्ला गर्ने निर्णय भएको छ । सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधन पनि रोकिएका थिए । निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय गरिएको छ ।
कोरोना नियन्त्रणमा नआइसकेकाले तत्काल निषेधाज्ञा खुल्ला गर्ने अवस्था नआएको प्रमुख जिल्ला अधिकारीहरुले निष्कर्ष निकालेका थिए ।
सूचना