Sunday, October 13, 2024
थप

    चीनमा अब तीनजनासम्म बच्चा जन्माउन पाइने

    सञ्चार हाउस, काठमाडौँ । पछिल्लो एक दशकमा जनसंख्या वृद्धिदर घटेपछि चीन सरकारले पूर्ववत् ‘दुई सन्तान’ नीति परिवर्तन गरेको छ । यसअघिको एक दम्पतीले दुईजनासम्म बच्चा जन्माउन पाउने नीति सुधार गर्दै अब तीनजनासम्म बच्चा जन्माउन पाउने सरकारले जनाएको छ ।

    सिन्ह्वा समाचार एजेन्सीका अनुसार चीनका राष्ट्रपति सी जिनपिङले सोमबार पोलिटब्युरो बैठकमा उक्त नीतिलाई स्वीकृति दिएका हुन् । दश वर्षयता जनसंख्या वृद्धिदर ह्वात्तै कम भएपछि राष्ट्रपति सी नेतृत्वको सरकारले जनसंख्या बढाउन नयाँ कदम चालेको हो । चीनमा पछिल्लो वर्ष एक करोड २० लाख मात्रै बच्चा जन्मिएका थिए । सन् २०१६ मा एक करोड ८० लाख बच्चा जन्मिएका थिए । यस वर्षको जन्मदर सन् १९६० यताकै सबैभन्दा कम भएको सिन्ह्वाले उल्लेख गरेको छ ।

    यहाँ सन् १९८० देखि २०१५ सम्म एक दम्पतीले एकजना बच्चा मात्रै जन्माउने नीति लागू थियो । सन् २०१६ मा दुई बच्चासम्म जन्माउन पाउने नीति लागू भयो । सन् २०१६ मा एक परिवार, एक बच्चा नीति कार्यक्रम खारेज गर्न सरकारमाथि निकै दबाब परेको थियो ।

    विश्वकै धेरै जनसंख्या भएको चीनले जनसंख्या नियन्त्रणकै लागि एक बच्चा नीति अपनाएको थियो । ३५ वर्षसम्म यो नीति चल्यो । यो नीतिले चीनको भविष्य नै खतरामा पर्ने भएपछि सरकारले दुई बच्चा जन्माउने अनुमति प्रदान गरेको थियो ।

    द इकोनोमिस्ट युनिटकी प्रमुख तथा अर्थशास्त्री यु सुले सुरुवातमा दुई बच्चा अभियानले सकारात्मक परिणाम दिएको बताइन् । दीर्घकालीन रूपमा दुई बच्चाको नीतिले चीनको आर्थिकदेखि विकास निर्माणसम्ममा असर गर्ने देखिएकाले फेरि सुधार गर्नुपरेको बताइन् । ‘दुई सन्तान नीति राम्रो थियो, तर एक दशकको जन्मदर हेर्दा यतिले मात्रै नपुग्ने संकेत दिएको छ,’ अर्थशास्त्री युसुले भनिन्, ‘चीनजस्तो विशाल देशमा यो नीतिले मात्रै लामो समयसम्म राम्रो नहुने देखियोे ।’

    सन् १९७९ मा चीन विश्वकै धेरै जनसंख्या भएको देश थियो । यसकारण सरकारले एक सन्तानको नीति लिएको हो । यो नियम यति कडा बनाइयो कि यसविरुद्ध जानेमाथि कारबाहीसमेत गरियो । सरकारको नियमविरुद्ध जानेले रोजगारी गुमाउने अवस्थासमेत आएको थियो ।

    सरकारको पछिल्लो निर्णयले ग्रामीण क्षेत्रमा यसको ठूलो असर पर्न सक्ने नेसनल युनिर्भसिटी अफ सिंगापुरका समाजशास्त्री तथा डा। मे जेङले बताएका छन् । ‘ग्रामीण क्षेत्रमा एक परिवारले तीन बच्चा हुर्काउन निकै गाह्रो हुन्छ, आर्थिक रूपले कमजोर परिवारले सरकारको यो नीति पालना गर्न सक्दैन,’ समाजशास्त्री मे जेङले भने ।

    यता बेइजिङ तथा संघाईजस्तो महँगो सहरमा बस्ने परिवारले बच्चा जन्माउन ढिला गर्ने समाजशास्त्री मे जेङको भनाइ छ । ‘महँगो सहरमा बस्ने परिवारले तीनजना सन्तान हुर्काउन सहज छैन, उनीहरू यसलाई आर्थिक बोझ सम्झन्छन् ।’ बेइजिङ र संघाईको तुलनामा अन्य सहरको परस्थिति फरक हुने उनले बताए । ‘चीनका अन्य सहरका परिवारले तीन सन्तान नीति सहजै स्वीकार गर्न सक्छन्,’ मे जेङले भने, ‘साथै उनीहरूमा आर्थिक दबाब पनि बढ्न सक्छ ।’

    यसैगरी विस्कोन्सिन मेडिसन युनिभर्सिटीका वैज्ञानिक तथा डा। फुक्सियानले चीनको अर्थतन्त्र बलियो बनाउन तीन सन्तान नीति सार्वजनिक भएको बताउँछन् । विश्व अर्थतन्त्रको एक नम्बर दौडमा गइरहेको देशमा जनसंख्या वृद्धिदरमा कम हुँँदा त्यसले दबाब सिर्जना भएको फुक्सियानको विश्लेषण छ । उनी भन्छन्, ‘चीनको अर्थव्यवस्था द्रुतगतिमा बढिरहेको छ, बिस्तारै जनसंख्या कमी आइइरहँदा यसको असर अर्थतन्त्रमा देखिएको छ । यसैकारण सरकारले तीन सन्तानको नीति लिएको हो ।’

    युवायुवतीको धारणा फरक
    सरकारले जनसंख्या बढाउने नीति लिए पनि यहाँका युवायुवती भने धेरै बच्चा जन्माउन नचाहेको बताउँछन् । बेइजिङमा बस्ने ३१ वर्षीय लिली चेङको दुई वर्षअघि विवाह भएको थियो । उनलाई तत्काल बच्चा आवश्यक छैन । माइती तथा श्रीमान्को परिवारबाट जति दबाब आए पनि चेङ बच्चा जन्माएर आर्थिक बोझ नलिने र स्वतन्त्रता गुमाउन नचाहेको प्रतिक्रिया दिन्छिन् । चेङ भन्छिन्, ‘धेरै साथीहरूका बच्चा छन्, अहिले उनीहरूको दैनिक जीवन बच्चाको कपडा फेर्ने, स्कुल पुर्‍याउने र खाना खुवाउनेमै गइरहेको छ, मलाई यस्तो जीवन मन लाग्दैन ।’ महँगो सहरमा बस्ने विवाहिता महिलाले आफ्नो स्वतन्त्रता भंग हुने डरले बच्चा नजन्माएको उनले बताइन् । ‘बच्चा हुर्काउन कम्तीमा दुई वा तीन वर्ष लाग्छ । यी तीन वर्षमा धेरै काम गर्न सकिन्छ,’ चेङको भनाइ छ, ‘जीवनको महत्वपूर्ण समय बच्चा जन्माउने र हुर्काउनेमै बिताइयो भने भविष्यमा केही रहँदैन ।’

    यसकारण जनसंख्या बढाउन आवश्यक
    राष्ट्रिय जनसंख्या ब्युरोका प्रमुख निङ जिझङले यसै साता आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै जन्मदर घट्दा यसको असर आर्थिक र समाजिक क्षेत्रमा परेको उल्लेख गरेका छन् । ‘जनसंख्या कम हुँदा स्वास्थ्य, सामाजिक तथा आर्थिक क्षेत्रमा धेरै असर गरेको देखियो,’ उनले भने, ‘यसको सन्तुलन कायम राख्न पनि पुरोना नीति परिवर्तन गर्नुपर्ने देखिन्छ ।’

    स्रोतः नयाँ पत्रिका

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै