सञ्चार हाउस, काठमाडौं । काठमाडौँमा जारी निषेधाज्ञालाई १० लम्ब्याउने तयारी थालिएको छ । मंगलबार अपराह्न बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुका बैठकले जारी निषेधाज्ञाका कारण कोरोना संक्रमणदर कम हुँदै गएकोले केही क्षेत्रमा आंशिक रुपमा खुला गरी सहजता अपनाउँदै थप १० दिने लम्ब्याउनेबारे छलफल भएको छ ।
खाद्यान्न, किराना पसल, खाद्यान्न मात्र बिक्री गर्ने डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिनेबारे छलफल भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । मंगलबारको बैठकमा छलफल मात्र भएकोले औपचारिक निर्णय बुधबार आउने भट्टराईले जानकारी दिए ।
यसका साथै, निर्माण स्थलमानै आवासीय रुपमा कामदारलाई राखेर विकास पूर्वाधारका कामलाई निरन्तरता दिने बारे छलफल भएको छ । कोरोना संक्रमणदर उच्च भएपछि गत बैशाख १६ देखि उपत्यका लगायत देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको थियो ।