असार २८, काठमाडौँ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा एमालेको अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । सोमबार बिहानै फेसबुकमा स्टाटस लैख्दै माधवकुमार नेपालले सूर्य थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।
थापाको अभिव्यक्ति कार्यदल स्तरमा भएको छलफलको मर्मविपरीत रहेको विचार व्यक्त गरेका छन् । माधवकुमार नेपालको स्टाटसमा भनिएको छ, ‘हिजो राती नेकपा (एमाले) को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ । अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा (एमाले) का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षर मा दृढ रहेको कुरा स्पष्ट पार्दछु । २८ असार, २०७८ ।’

प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग राखी एमालेका नेपालपक्षका २३ सहित १ सय ४६ सांसदले दिएको निवेदन सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ । सूर्य थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै देउवालाई प्रधानमन्त्री बनाउन समर्थन जनाउनेमा अब १२३ सांसद मात्र रहेको उल्लेख गर्दै व्यंग्यात्मक टिप्पणी गरेका छन् ।
थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६—२३ .१२३ मात्र, सर्वोच्चद्वारा न परमादेश न पुनःस्थापना ! मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो !!’
