काठमाडौँ‚ फागुन १० । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी तीव्र पारिएको छ । पर्यटन मन्त्री आलेको निर्देशन पछि पशुपति क्षेत्रका भित्तामा भगवानका चित्र बनाएर आकर्षकरुपमा सजाउन थालिएको हो ।
पशुपति क्षेत्रमा साधुसन्तको आगमन पनि हुन थालिसकेको छ । पशुपति क्षेत्रका विभिन्न स्थानमा साधुसन्तका समूह बसेको देखिन्छ । हंसमण्डप क्षेत्रमा आगन्तुक साधुसन्तका लागि भोजनको व्यवस्था समेत गरिएको छ । पशुपति क्षेत्र विकास कोषले आज आयोजना गरेको कार्यक्रममा महाशिवरात्रि पर्व व्यवस्थापनका लागि तीव्र गतिमा तयारीका काम भइरहेको जानकारी गराइएको छ ।
पर्व व्यवस्थापनका लागि कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा २५१ सदस्यीय मूल समिति गठन गरिएको जानकारी गराइएको छ ।
पशुपतिमा कुदृष्टि लगाउनेलाई राम्रो हुँदैन : मन्त्री आले
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले महाशिवरात्रि पर्व व्यवस्थापन तयारीमा कुनै कसर बाँकी नराख्न र पशुपति क्षेत्रमा धार्मिक पर्यटकका लागि सबै सुविधा हुने गरी व्यवस्थापन गर्न मन्त्री आलेले कोषका पदाधिकारीलाई निर्देशन दिए ।
पशुपति क्षेत्रको सम्पत्तिमा कुदृष्टि लगाउनेलाई राम्रो नहुने बताउँदै मन्त्री आलेले नेपाल–भारतमैत्री पशुपति धर्मशालालाई सहीरुपमा व्यवस्थापन गर्ने बताउनुभयो । धर्मशालामा महाशिवरात्रिमा आउने भक्तजनको व्यवस्थापनका लागि आगामी वर्षदेखि काम गरिने जानकारी दिए ।
धुनी जगाउन ३३ हजार किलो दाउरा
महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तको खाने, बस्ने एवं धुनीका लागि दाउराको व्यवस्था परम्परादेखि नै गुठी संस्थानले गर्दै आएको छ । यस वर्ष साधुसन्तका लागि धुनी जगाउन ३३ हजार किलो दाउराको व्यवस्था गरिएको संस्थानका अध्यक्ष पुण्यप्रसाद भुसालले जानकारी दिए । संस्थानले धुनीका लागि पशुपति क्षेत्रका निर्मल, भष्मेश्वर, राममन्दिर, श्रीगोरखनाथ (मृगस्थली), अन्नपूर्णलगायत अखडामा दाउराको व्यवस्था गर्नेछ । यसैगरी नागाबाबाका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमै धुनीको व्यवस्था गरिने जनाइएको छ ।
संस्थानले साधुसन्तको बिदाइका क्रममा गत वर्षभन्दा पारदर्शीरुपमा काम गर्ने पशुपति गोश्वारा कार्यालय प्रमुख सुशीला शर्मा घिमिरेले बताए ।