Saturday, October 5, 2024
थप

    खोटाङका एक युवाले अनलाइन पढ्नकै लागि बनाए रूखको टुप्पोमा टाँडी

    भदौ २६, काठमाडौँ । डाटा कनेक्सनको लागि नेटवर्क नआएपछि खोटाङ हलेसीका एक छात्रले अग्लो रुखको टुप्पोमा बस्ने टाडी बनाएर महिना दिनदेखि अध्ययन गरिरहेका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरले अनलाइन कक्षामा सहभागी हुनकै लागि अग्लो रुखको टुप्पोमा टाँडी बनाएका हुन् ।

    मगरले अर्खौले नवरपुरको पुछारमा रहेको सिम्लेमा डाटा कनेक्सन हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुँदै आएको बताएका छन्।

    विद्यालयले साउन २४ गतेदेखि अनलाइन कक्षाका माध्यमबाट पठनपाठन सुरु गरेको थियो। तर, नवलपुर सिम्लेमा मोबाइलको डाटा बल्लतल्ल कनेक्ट हुन्छ । कनेक्ट भइहाले जुम मिटिङमा ज्वाइन हुन सम्भव थिएन । कमजोर कनेक्सनकै कारण धनकुमार ८–९ दिनसम्म अनलाइन कक्षमा सहभागी हुन सकेनन्।

    धनकुमार मगरले अनलाइन कक्षा लिँदै आएकाे रूख

    विद्यार्थी मगरले भने, ‘घरभन्दा माथिको डाँडामा निस्केर प्रयास गरेँ तर मोबाइलको डाटा कनेक्सन राम्रो देखिएन । अनि एउटा रुखको फेदमुनि बसेर चेक गरेँ । त्यहाँ कनेक्सन राम्रो देखायो। रुखमा चढ्दा अझ राम्रो कनेक्सन होला भनेर रुखमा चढेँ। नभन्दै अझ राम्रो कनेक्सन देखायो । अनि जुम मिटिङमा जोडिन सफल भएँ।’

    मगरको पढाइको अतृप्त चाहना पूरा गर्नकै लागि उनले डाटा कनेक्सन हुने अग्लो रुख फेला पारेका हुन् । मगरले भने, ‘दिनभरि रुखमा बसेर कक्षामा सहभागी हुन कठिन भएपछि रुखमै बस्ने डेरा बनाएको हुँ ।’

    पढाइप्रति मगरले देखाएको लगाव र आकर्षणका साथै यो फोट सामाजिक सञ्जालमा चर्चाको शिखरमा रहेको छ । रुखमा बनाएको डेरामा पुग्नका लागि घरबाट १० मिनेट उकालो र थोरै तेर्सो हिँड्नुपर्छ । छात्रले पढ्नका लागि डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमै डेरा बनाएर पढाइप्रति देखाएको लगावले गर्व महसुस गराएको सरस्वती मावि अर्खौलेका निमित्त प्रअ नविन चाम्लिङले बताएका छन् ।

    सरस्वती माविमा कक्षा ६ देखि कक्षा १० सम्मको पठनपाठन अनलाइन माध्यमबाट सञ्चालन भइरहेको छ । आउँदो असोज ३ गतेदेखि भने भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्ने गरी हलेसी तुवाचुङ नगरपालिकाले भदौ २२ गते सूचना जारी गरेको छ ।

    १६ वर्षीय धनकुमार परिवारको जेठो सन्तान हुन् । भाइ नयन कक्षा ८ मा अध्ययनरत छन् । बुवाले अर्को विवाह गरेर छाडेपछि मगर दाजुभाइ आमासँग बसिरहेका छन् ।

    तस्बिर सौजन्य : नविन चाम्लिङ 

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै