असार ७, काठमाडौँ । नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएर हिँडिरहेका नेपाल–खनाल पक्षलाई माफी दिने भन्दै आउन आग्रह गरेका छन् । एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा ओली पार्टी एकता गरेर जान आग्रह गर्दै बाटो बिराएकालाई आममाफी दिने बताएका हुन ।
ओलीले कार्यक्रममा सम्बोधन गर्ने क्रममा भने, ‘पुष्पलालबाट प्रेरणा लिऔँ, महान् विचार कार्यान्वयन गर्न एक जुट होऔँ, पद र स्वार्थका कुरा छाडौँ, देशका कुरा गरौँ, एकताका कुरा गरौँ ।’ उनले थपे, ‘बाटो बिराएका र भड्किएकालाई आममाफी भयो ।’
पार्टी एकताका लागि आह्वान गर्दै ओलीले भने, ‘आउनोस् मिलेर काम गरौँ, यस आन्दोलनलाई मजबुत गरौँ, एकजुट भएर जाउँ ।’ यसअघि विभिन्न चरणका पार्टीको आचारसंहिता र विधि उल्लङ्घन गरेको भन्दै एमालले केहीलाई कारबाहीको घोषणा गरेको तर पुष्पलालको स्मृतिका अवसरमा पार्टी अध्यक्ष ओलीले सबैलाई आममाफी दिने घोषणा गरेका छन् ।
उनले भने, ‘म सङ्गठनको प्रमुख हुँ, तर साथीहरू मलाई कु गर्दैछन्, कहिले अध्यक्षबाट हटाउने भन्छन्, केही साधारण सदस्यबाटै हटाउने भन्छन् ।” उनले फुटको बाटोमा लागेर पतनतिर जान नहुने र पुष्पलालले रोपको बिरुवालाई सानोतिनो हावा हुन्डरीले केही असर नपार्ने जिकिर गरेका छन् ।
अध्यक्ष ओलीले कुनै पनि आन्दोलले हल्लाउन नसकेपछि अदालतबाट परमादेशको सहारा लिएको स्पष्ट पारे। ओलीले भने, ‘मैले समृद्ध नेपालः खुशी नेपाली राष्ट्रको सङ्कल्पका लागि काम गरेको हुँ ।’
प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेश, स्थानीय तहमासमेत एमाले पहिलो पार्टी भएको स्मरण गराउँदै अध्यक्ष ओली वर्तमान सरकार सर्वोच्च अदालतको परमादेशमार्फत बनेको र अदालतले न्यायलयप्रति मर्यादा हुने गरी काम गर्नुपर्ने बताए । पुष्पलालले देखाएको बाटो र प्रेरणाबाट अघि बढ्न उनले सबैलाई आग्रह गरे ।
एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टी एकता र सुदृढीकरणको अभियानमा जानुपर्ने जरुरी भएकासमेत बताए। एमालेका संस्थापक महासचिव पुष्पलालको जन्म वि. सं १९८० मा रामेछापमा भएको थियो भने २०३५ साल साउन ७ गते निधन भएको थियो । उनले, २००६ सालमा पहिलो पटक नेपालमा नेकपाको स्थापना गरको थियो ।