साउन २, काठमाडौं । मौसम विभागले आजबाट तिन दिन सम्म देशभर व्यापक वर्षा हुने सम्भावना रहेकाले सजगता अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार रातिदेखि नै वर्षाको मात्रा बढिसकेको र कतिपय स्थानमा भारी वर्षा समेत भएको छ । गण्डकी प्रदेशको कास्की र स्याङ्जामा गए राति अति भारी वर्षा भएको छ । ती क्षेत्रका नदीनालामा जलसतह पनि बढेको छ । अहिले मनसुनको न्यून चापीय रेखा तराइ नजिकै आएर बसेको छ । जसका कारण २/३ दिन वर्षाको मात्रा बढ्ने देखिएको हो ।
आज देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस क्रममा सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश २ र १ का थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । यस्तै आज राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना जारी रहने सम्भावना छ ।
यस क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ का थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षासमेत हुनसक्ने विभागले जनाएको छ ।