असार १, काठमाडौँ । वर्षा समय चलेसँगै लगातार पानी परिरहेको छ । अझै हप्ता दिन पानी पर्ने र बाढी बाट बच्नको लागि पहिले नै तयारी अवस्थामा बस्ने विज्ञहरुले सुझाव दिइरहेका छन् । लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत–बागलुङ खण्डको सडक रातिदेखि अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा रातिदेखि नै सडक अवरुद्ध भएको हो । निरन्तर पहिरो झरिरहेकाले तत्काल खुलाउन समस्या रहेको ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
यसैगरी छिमेकी जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी–मालढुङ्गा सडकसमेत अवरुद्ध भएको छ । जलजला गाउँपालिका–८ नाङ्लीवाङको फर्से, वडा नं ७ को केराबारी र वडा नं ३ को लामाखेतमा पहिरो जाँदा सडक अवरुद्ध भएको ट्राफिक प्रहरी प्रमुख कृष्ण थापाले जानकारी दिए। उनले भने, गए रातिदेखि नै सडक अवरुद्ध भए पनि वर्षा निरन्तर जारी रहेको र पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल खुलाउन सकिएको छैन ।
वर्षा रोकिनेबित्तिकै सबै सडकमा डोजर लगाएर खुलाइने भएको छ । अहिले डोजर र सुरक्षा निकाय तयारी अवस्थामा रहेको उनले जानकारी दिए । सडक बन्द हुँदा बाग्लुङ, म्याग्दी र मुस्ताङबाट छुटेका मालवाहक सवारी, एम्बुलेन्सलगायत खाद्यान्न र बिरामी बोकेका सवारी साधन बिच बाटोमै रोकिएका छन् भने अन्यत्रबाट आएका सवारी साधनसमेत पर्वतको सहस्रधारामा रोकिएका छन् ।