जेठ ३०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कोशी नदीको बिचमा रहेको खुवालुङ ढुङ्गा नचलाइकन जल यातायातलाई सञ्चालनमा ल्याइने बताएका छन् ।
मन्त्रालयअन्तर्गतका विभाग र कार्यालयको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री नेम्वाङले उक्त कुराको जानकारी गराएका हुन् । उक्त क्षेत्रमा जल यातायात सञ्चालनका लागि मार्ग निर्माण गर्दा खुवालुङ ढुङ्गा ध्वस्त गर्न नखोजिएको स्पष्ट पारे।
प्रदेश नं. १ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ढुङ्गाको संरक्षणलाई कार्यक्रममा राखेको उनले जानकारी दिए । ढुङ्गाको विषयमा राजनीति भयो ।
उनले भने, ‘त्यो रुटमा जल यातायात चलाउने विषयमा विवाद गर्नुपर्ने ठाउँ छैन ।’
मन्त्री नेम्वाङले कोभिड सङ्क्रमण कम हुनासाथ जनकपुर–जयनगर रेल सञ्चालन गरिने भएकाले सबै तयारी पूरा गर्न नेपाल रेल्वे कम्पनीलाई निर्देशन दिएका छन् । रेलमार्ग निर्माण सकिएको, रेल खरिद गरिएको, जनशक्ति तयार भएको र कानुन निर्माण भइसकेकाले अब सञ्चालनका लागि समस्या नभएको उनको दाबी रहेको छ । उनले भने, ‘सरकारले गर्नुपर्ने सबै किसिमको सहजीकरण गरिसकेको छ ।’
रेल सञ्चालन हुन लागेको स्थानसम्म अस्थायी रुपमा भएपनि पहुँच सडकको निर्माण अघि बढाउनुपर्नेमा उनको जोड छ ।
मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले निषेधाज्ञा खुलेको एक/दुई सातामा नै रेल सञ्चालन गर्न सबै तयारी पूरा गनुृपर्ने बताए।