जेठ २३, काठमाडाैँ । अफ्रिकी राष्ट्र बुर्किनाफासोको उत्तरी क्षेत्रको एक गाउँमा बन्दूकधारी समूहको आक्रमणमा परि कम्तीमा १३२ जना सर्वसधारणको मृत्यु भएको छ । बुर्किनाफासोको सरकारले शनिबार भएको घटना पछिल्ला वर्षहरुको सबैभन्दा हृदयविदारक रहेको जनाएको छ ।
बीबीसीका अनुसार सोल्हनस्थित घर र स्थानीय बजारमा आगजनी गरेर नष्ट पारिएको छ । घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । संयुक्त राष्ट्र सङ्घका प्रमुख एन्टोनियो गुटेरसले आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन् ।
बुर्किनाफासोका राष्ट्रपति रोच कबोरेले तीन दिनको राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ । दानवीय प्रवृत्तिका विरुद्ध हामी सबै एक हुनुपर्ने बुर्किनाफासोका राष्ट्रपति कबोरेले प्रतिक्रिया दिएका छन् ।
सोल्हनबाट करिब १५० किलोमिटर उत्तरस्थित टादर्यात गाउँमा शुक्रबार १४ जनाको हत्या गरिएको थियो । गत महिना मात्रै पूर्वी बुर्किनाफासोमा भएको एक आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो ।
बुर्किनाफासोमा पछिल्ला दिनहरुमा सुरक्षा सङ्कट चुलिँदो छ । बन्दूकधारी समूहले बन्धक बनाउने, अपहरण र हत्या गर्ने शृङ्खला चलेको छ ।