सञ्चार हाउस, जेठ २३ । नेपाली कांग्रेस दलको बैठकले यज्ञबहादुर बीसी र दीनबन्धु श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेपछि मुख्यमन्त्री शाहीले शुक्रबार साँझ प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए । प्रदेश प्रमुखको कार्यालयले पनि शुक्रबार साँझै मन्त्री नियुक्त भएको जानकारी सूचना मार्फत गराएको हो ।
कांग्रेसबाट निर्वाचित मन्त्रीहरुलाई आजै सपथ खुवाउने तयारी गरिएको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।
कांग्रेसले गत वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई संसदमा विश्वासको मत दिएर साथ दिएको थियो । त्यसक्रममा नेकपा एमालेको माधव नेपाल समूहका चारजना सांसदले पनि फ्लोर क्रस गरी मुख्यमन्त्री शाहीको सत्ता जोगाइदिएका थिए । त्यस लगत्तै सरकारमा जाने सहमति भएपनि कांग्रेसले सरकारमा कसलाई पठाउने भन्ने विषयमा टुंगो लगाउन सकेको थिएन ।
शुक्रबार साँझमात्रै कांग्रेसले १३ बुँदे आचारसंहितासहित दुईजनालाई सरकारमा पठाउने निर्णय गरेको हो ।
दुई मन्त्री थपिएसँगै कर्णालीको मन्त्री मण्डल ८ सदस्यीय बनेको छ । जसमा मुख्यमन्त्रीसहित ३ जना माओवादी केन्द्रका रहेका छन् भने एमाले माधव समूहका ३ जना र कांग्रेसका २ जना रहेका छन् ।