किन उस्लाई माटोहरूले बोलाएको छ
हिलाम्मे त्यहिँ बाटोहरूले बोलाएको छ ।।
छङछङ खोलाले पानी छल्काएको छ
मिलनले नि आखाँको नानी टल्काएको छ ।।
गाउँघरबाट पर जाने पाटो मौलाएको छ
परदेशीले हत्केलामा टाटो फैलाएको छ ।।
बाँझो खेतमा चौतर्फी दुवो मौलाएको छ
वर्षातले होला खोला खहरे बौलाएको छ ।।
चिरविर गर्ने चरीको प्वाँख पलाएको छ
मरुवा खोलाको बगर किन सुस्ताएको छ ।।
मान्छेले वनमा सालघारी हल्लाएको छ
पशु र पंक्षीको बासस्थान चलाएको छ ।।
सधै अंक गणितका सुत्रहरू मिलाएको छ
त्यसैले होला साँचो खुसी हलखलाएको छ ।
साक्षी राखेर अस्तित्व हेर घाम उदाएको छ
मलाइ फेरि तिनै पाखा पहराले बोलाएको छ ।।
मतानमाथि ती बुढा बा दिन गन्दै टोलाएको छ
फेरि आखाँले पुर्खौली थलोको दर्शन पाएको छ ।।
त्यो बालापनको स्मृतिले भक्कानो फुटाएको छ
त्यो माटोको वास्नासँग पर कयौं वर्ष छुटाएको छ
बसन्तीबाघको हरियाली दृश्य मनमा अटाएको छ
हे दैव बाँकी जीवन अझै कति टाढा खटाएको छ ।।
खोला वारि र पारि तरेर सानो भोटो फटाएको छ
तर झोलीकुन्टरा बोकी नियतिले सधैँ पर पठाएको छ ।।
तर पनि मनको वछ्यस्थलमा तिम्रो माया अटाएको छ
निर्दयी समयले त्यो आगनको सामिप्यता घटाएको छ ।।
गोधुली साँझमा सम्झनाको कोसेली पठाएको छ
सुन्दै छु कता हो कता न्याउलीले विरह गाएको छ ।।
असारे हिलोमा रोपेको धान दशैंमा झुलाएको छ
अझै त्यो जामुन रूखले थरिथरि सुनखरी फुलाएको छ ।।
त्यो बतासे डाँडा मरुवाखानी किन सुस्ताएको छ
उस्तै दुधौली पारि क्षितीजले घाम लुकाएको छ ।।
त्यो माइती घरआगनले फेरि एक चेलीको स्पर्श पाएको छ
त्यो शितलु आँप गाछीले मितेरी साइनो लाएको छ ।।
आखाहरुबाट मनका भावहरू स्खलित भएको छ
त्यो पवित्र मायाले कस्तो बेग्लै जादुगरी लाएको छ ।।
— सीमा थापा ‘सीमाना’
कपन काठमाडौं