Friday, April 12, 2024
थप

    कथा – फर्किएका पाइला

    – बलदेव पन्थी

    “आमा भोकले मर्नै आँटेँ, केही खानेकुरा दिनुहोस् न” झोला भुइँमा फ्यात्त फाल्दै सुमी बोल्छे ।
    टन्टलापुर घाममा पसिना चुहाउँदै कोदालीले बारी खनिरहेकी रमा टाउको यसो उठाएर छोरीलाई हेर्छिन् । दाहिने हातले निधारभरि आएका पसिना पुछ्दै भन्छिन् “खाजा चुलामाथि छ निकालेर खाऊ ।”
    सुमी फुरुङ्ग पर्दै भान्सामा पुग्छे । चुलोमाथि तातो ताप्के बसिरहेको थियो । सुमीले ताप्केको ढकनी बिस्तारै खोल्छे । चाम्रे रहेछ, सुमीलाई सबैभन्दा मनपर्ने खाजा । आमाले सुमीको मनोभावना बुझेरै त्यो खाजा तयार पारिदिइकी थिइन् । अहिले दिउँसोको तीन बज्दासमेत आमाको मुखमा पानीबाहेक अरू केही परेको छैन । अहो ! सन्तानको माया कतिसारो हुँदो रहेछ । आफू भोकै रहेको कुनै प्रवाह छैन तर सन्तान भोकै रहलान् कि भन्ने कत्रो चिन्ता ?
    रमा बारीबाटै चिच्चाइन्– “छोरी एक गिलास चिसो चिया पानी ल्याऊ है त ! ”
    खाजा खाइसकेपछि सुमी एक गिलास पानी लिएर आमा भएको ठाउँमा पुगी । रमा चिलाउनेको शीतलमा बसेर पानी पिउन लागिन् ।सुमी भने आमाले खन्दै गरेको कोदालो टिपेर बारी खनीटोपली ।
    “पर्दैन, पर्दैन ,अहिले खुट्टामा चोट लाग्छ । सानो मान्छेले पनि काम गर्नुपर्छ र !” मायालु भावमा रमाले भनिन्
    “आमा म अहिले पन्ध्र वर्ष भइसकेँ । तपाईँ भने मलाई सानै देख्नुहुन्छ” सुमीले आमासँग प्रति प्रश्न गरी ।
    “हेर नानी सन्तान जतिसुकै ठुला भए पनि बाआमाको आँखामा उनीहरू साना हुन्छन् । खन्दाखन्दै तिमीलाई केहीगरी चोट लाग्यो भने तिमीलाई चोट लाग्छ तर मलाई दुख्छ ।” भावुक हुँदै रमाले भनिन् ।
    सुमी रमाकी एक्ली छोरी । अत्यन्तै रूपवती थिई । पढाइ लेखाइमा अब्बल । आजसम्म त शील स्वभाव पनि बदलिएको छैन । तर उमेर बढ्दै गएपछि सुमीका मनभित्र अनेक रहर र उत्कृट चाहनाहरूका पोका भने फिजिँदै जान्छन् ।
    पानी पिउँदै गर्दा रमाका मनमा अनेक किसिमका मनोभावना उब्जिए । “कति ज्ञानी छे मेरी सुमी । जे दिए पनि त्यसैलाई मिठो मानेर खान्छे । तडकभडक गर्दिन । अबका दिनमा पनि यस्तै रूपवती भएको हेरिरहन परोस् । हे भगवान् मेरी छोरी कहिल्यै कुबाटोमा नलागोस् । मैले जस्तो दुर्दिन भोग्न नपरोस् ”
    रमा जन्मघर छोडेर आएको पनि बिस वर्ष पुग्यो । रमाका बिस वर्ष आँसुका भेलमा डुबेर बिते । विवाहपश्चात एक छोरीकी आमा रमा अहिले छोरीको मुख हेरेर बाँचेकी छिन् । पुत्रको व्याकुलतालाई छोरीको मुहारबाट तृप्ति गर्छिन् । विहे गरेको पाँच वर्षपछि श्रीमान्ले सौता हाले । सौता सौताको बेमेलबाट रमाको खुसी उजाडियो । त्यसपछि श्रीमान् नाबालिकालाई समेत छाडेर कान्छीलाई लिएर घर छोडेर हिँडे ।त्यसपछि आजसम्म घर फर्केर आएका छैनन् । सम्पत्तिको नाउँमा एउटा खरले छाएको घर र गरी खान एउटा सानो सुर्काे बारी मात्र । वर्षभरि साहुको मेलापात गरेर छोरी हुर्काएकी थिइन् ।
    पश्चिम क्षितिजमा दिवाकरले आफ्नो मुहार लुप्त बनाएपछि आमाछोरी मेलाबाट घर फर्किए । आज सुमीले भान्साको काममा आमालाई सहयोग गरी । हिजो अस्ति भान्साको काममा नसघाउने सुमी आज दिल खोलेर सहयोग गरिरहेकी थिई । आज छोरीले गरिरहेको सहयोगमा रमाले छोरीले अवश्य केही माग राख्छे भन्ने पूर्व सङ्केत पाइसकेकी थिइन् ।
    “आमा चिसो पानी धेरै नखेलाउनू है । तपाईँलाई चिसोले पटक्कै सहन्न’ स्नेहीे भावमा सुमी बोलेकी थिई । खानपिनपछि सुमीले आमासित भनी ‘आमा एउटा कुरा भन्नुछ मान्नुहुन्छ ?”
    “पहिला भनिहेर, पूरा गर्न सक्ने भए मानौँला । छोरीको कपाल सुम्सुम्याउँदै रमाले भनिन् ।
    “आमा, मेरी साथी बिनाले किने जस्तो एउटा कुर्ता किनिदिनु न ।
    “हेर छोरी बिना धनी परिवारकी छोरी हो । उससँग हाम्रो तुलना हुन सक्दैन । घाँटी हेरी हाड हेरी निल्नुपर्छ बा, यस्तो कुरा नगर । गम्भीर हुँदै रमा बोलिन् ।
    “तपाईँ जहिल्यै ंयसै भन्नुहुन्छ । एउटा गतिलो कपडा हालिदिन पनि महाभारत सुन्नुपर्ने ?” झर्किदै सुमी बोली ।
    “छोरी मेरो बाध्यता बुझिदे मसँग पैसा पो कहाँ छ र ?” सम्झाउँदै रमा बोलिन् ।
    आमाको यस भनाइले सुमीको मनोवेग बढेर आयो । ऊ रिसाउँदै बोली “आफ्ना छोराछोरीलाई राम्रो लाउन र खान नदिने भए किन जन्मायौ त ?
    यस कठोर प्रश्नले रमाको अन्तर्हृदयमा वाणले प्रहार गरे जस्तो भयो । मुटु छिया छिया भयो । मन भक्कानिएर अटेसमटेस भयो । आँखाभरि आँसु आएर अबिरल बगिरहे । टाउकामा बाँधिराखेको रातो पछ्यौरी निकालेर बग्दै गरेका आँसु पुछिन् र फेरि भनिन् “हेर छोरी, मानिसलाई राम्रो देख्ने त शरीरमा लगाएका लुगाफाटाले मात्र होइन, उसलाई राम्रो देखाउने त उसको लगनशीलता, शीलस्वभाव र चरित्र हो । तिमी त्यसै पनि रुपवती छ्यौ । पढाइ पनि त्यत्तिकै राम्रो छ । त्यसैले छोरी नक्कल झक्कलमा भन्दा आफ्नो पढाइमा ध्यान देऊ । भोलि तिम्रो भाग्य राम्रो रहेछ भने तिम्रा इच्छा अवश्य पूरा हुनेछन् ।”
    “भैगो आमा, त्यहाँभन्दा बढ्ता अरू केही नभन्नू, मेरो भाग्य यस्तै रहेछ, यसैमा चित्त बुझाउँला । भाग्यको डोरीले मलाई जुन दिशामा डोर्याउला म त्यही डोरीमा अल्झिएर जीवनको यात्रा अघि बढाउँला” आँखाबाट बर्रर आँसु झार्दै सुमीले भनी । त्यसपछि सुमी खाना पनि नखाई आफ्नो ओछ्यानमा गएर पल्टी ।
    त्यस रात सुमीलाई पटक्कै निद्रा लागेन । उमेर परिपक्व नभए पनि आमाले अगि भनेको कुरा भने उसको मनभरि गुन्जिरह्यो ‘….. “मानिसलाई राम्रो देख्ने त उसले लगाएका लुगाफाटाले मात्र होइन,उसको लगनशीलता, शीलस्वभाव र चरित्र हो…………….।’
    भोलिपल्ट बिहानको काम धन्दा सुमी एक्कैले सम्पन्न गरी । हिजो राति आमाले भनेका कुराले सुमीको मन पग्लिएछ क्यारे । सुमी झन जाँगर चलाउँदै काममा खटिएकी थिई । खाना तयार पारेर खाना खाईवरी स्कुल गई । त्यसदिन सुमी साथीहरूसित राम्ररी बोल्दा पनि बोलिन् ।
    बेलुका घर फर्किएपछि सुमीले आमासँग सोधी “ आमा हाम्रा बुबा कहाँ हुनुहुन्छ ?” सुमीको यस प्रश्नले रमाको मथिङ्गल हल्लाइदिन्छ । यो उमेरसम्म रमाले छोरीलाई बाबुका बारेमा साँचो कुरा बताएकी थिइनन् । एक शब्दमा उत्तर फर्काईन् “परदेश ।” रमा सुमीको प्रश्नबाट भागिरहेकी थिईन् । तैपनि उनले भनिन् “तिमीलाई किन चाहियो छोरी ?”“मलाई तपाईँले आज साँचो कुरा बताउनैपर्छ आमा” जिद्दी गर्दै सुमीले भनी ।
    सुमीभित्रको ज्वाला निस्केर विस्फोट भइसकेको थियो । उसको मानसिक अवस्था बुझेर रमा चुप रहन सकिनन् । छोरीलाई आफ्नो छेवैमा बसाउँदै वास्तविक कुरा बताउँदै भनिन् “छोरी तिम्रा बुबा परदेश होइन तिमी र मलाई घात गरेर घर छोडेर हिँडेका हुन् । बाआमाले आँगन पोलेर उनैको जिम्मा लगाउनुभएको थियो । तिमी जन्मेपछि मेरो खुसी खोसे । सुरुसुरुमा त माया गरे । छोरो पाइन भनेर दिनरात ममाथि अन्याय र अत्याचार गर्दै गए । सम्पत्तिको नाउँमा यही एउटा खरे बुकुरो र एउटा पाटो मात्रै हो । सुरु सुरुमा गरेको माया त टोटलाको पूmल जस्तो रहेछ, रातभर फुल्ने बिहान भएपछि झरिजाने । सधैँजसो जाँडरक्सीले मात्तिएर आउँथे । घरमा हामी भोकै रहेको केही वास्ता हुँदैनथ्यो । कैयौँ रात म ननिदाएरै बसेँ । जाउँ कहाँ जाउँ ? तिम्रो मुख हेरेर कठिनाइ भोग्दै गएँ । रातदिनको कुटाइले मेरो जीउ थङथिलो हुन्थ्यो । चिसो भुइँमा कष्टप्रद रात बिताउँदा अहिले दम भएको छ । एक रात अत्यधिक नशाले मातेर आएका थिए । म चुपचाप बसेकी थिएँ । केही नबोली खानेकुरा पस्किदिएँ । खाना मिठो भएन भन्दै त्यो खाना मैतिर हुत्याइदिए । तातो खानाले मलाई कति पीडा भयो त्यो अहिले म बयान गर्न सक्दिनँ । अति भएपछि प्रहरी चौकीमा निवेदन दिएँ । दुईचार दिन चौकीमा बिताएर आएपछि झन उग्र हुँदै गए । तिनले मलाई के माया गर्थे । एक दिन ममाथि सौता हाले । सौताको करले आफैँ घर छोडेर गए । त्यसपछि कहाँ छन् आजसम्म मलाई केही थाहा छैन । ”
    आमाका कुरा सुनेर सुमी झन भावुक बनी । आमा तपाईँले त बुबा विदेश हुनुहुन्छ भन्नुहुन्थ्यो, किन ढाँट्नुभएको थियो ? ”मलिन स्वरमा सुमीले भनी ।
    “जुन बाउबाट तिमीले कहिल्यै माया पाइनौ । घर छोडेर गएपछि तिमीलाई मानसिक तनाव होला भनेर मैले परदेश जानुभएको हो भनेकी हुँ” वास्तविकता बताउँदै रमा बोली ।
    आमाका कुरा सुनेर रमा केही बोलिन् । रमाले फेरि भनिन् “बडो दुःख गरेर तिमीलाई हुर्काएँ । भाग्य रहेछ भने तिमीले मलाई दुःखबाट पार लगाउनेनैछ्यौ । रातदिन साहुको खेतबारीमा खनीखोस्री गर्छु । तिमीलाई एक जोडी नयाँ लुगा हालिदिन पनि नसक्ने रहेछु । एकपाखे जीवन बिताउन सारो रहेछ तर किन हो तिमीलाई मेरो दुःख सुनाउन मन थिएन । आफू अनेक कष्ट गरेर पनि तिमीलाई राम्रै खान लाउन दिन मन छ, सायद, मेरो कमजोरी यही हो कि ?”
    आमाका कुराले सुमीको मानसिकतामा पहिरो गयो । उसलाई आफ्नो बाकुप्रति घृणा लागेर आयो । उसले मनमनै सोची “ म आमालाई न्याय दिलाएरै छोड्छु । ”
    दिनहरू क्रमशः बित्दै गए । सुमी पढाइमा अब्बल थिई । आमाले साहुसँग ऋण गरेरै भए पनि बि ए सम्म पढाइन् । क्षमता र योग्यता भएपछि मानिसले जहाँ पनि अवसर पाउँछ भने झैँ सुमीले आफूले पढेको विद्यालयमा शिक्षकको रूपमा जागिरे भई । अब भने महिनैपिच्छे तलब आउन लाग्यो । बुढी भएकी आमा, त्यसमाथि रोगी, अलिअलि दबाइपानी र घरखर्च चलाउन अब गारो भएन । बिस्तारै रमाका दिन फिर्दै गए । दुःखको सागरमा पौडी खेलिरहेकी रमा छोरीको मिहिनेत देखेर बिस्तारै खुसी हुँदै गइन् ।
    दिनहरू व्रmमश बित्दै थिए । एक साँझ रमा र सुमी घरको सिकुवामा बसेर दुःखसुखका कुरा गरेर बसेका थिए । घरअगाडिको बाँसको झाङमा चराहरू बास बस्न आए । चराहरू चिरबिर गर्दै चिरबिराइरहेका थिए । घरको पुछारमा एउटा खोलो थियो । वनपाखा थर्काउँदै सुसाएर आफ्नो यात्रा निरन्तर गरिरहेको थियो । झ्याँउकिरीहरूले आफ्ना आवाज बढाउँदै थिए । त्यसैबेला परबाट एउटा मानिस उनीहरूकै घरतिर लम्किँदै थियो । धुमिल साँझमा हत्तपत्त चिन्न सकिँदैनथ्यो । एकैछिनपछि एउटा उदास जस्तो देखिने मनुवा रमाको आँगनमा टुप्लुक्क आइपुग्यो । कपाल जिङ्रिङ्ग, एउटा मैलो कमिज त्यो पनि धेरै ठाउँमा च्यातिएको, खुट्टामा पनि च्यातिएका चप्पल, हेर्दै उदेक लाग्दो मानव आँगनीमा ठिङ्ग उभियो । रमालाई त्यस अपरिचित व्यक्तिलाई चिन्न रत्तिभर समय लागेन । उनी जुरुक्क उठेर भित्र गइन् । भित्रैबाट सुमीलाई भनिन् “नानी तुरुन्त भित्र आऊ ।” सुमी पनि तुरुन्त भित्र आई । रमाले हत्तपत्त ढोका लगाइन् । “बाहिर को मान्छे आएको छ आमा उसलाई पनि भित्र बोलाउनुहोस् न, हेर्दा त सारै समस्यामा परे जस्तो देखिन्छ ” सुमीले आमासँग भनी ।
    “पर्दैन पर्दैन, जसले जिन्दगीभर मेरो खुसी खोस्यो त्यस्तो मान्छेलाई म कसरी भित्र बोलाऊँ” रमा भक्कानिदै बोलिन् । रमाको भनाइले सुमीलाई आफ्ना बाबु हुन् भनेर चिन्न कत्ति गारो लागेन् । आमाप्रति बाबुले गरेको व्यवहारले सुमीलाई पनि बाबुप्रति घृणा लागेर आयो । बुबा भनेर नजिक जान पनि मन लागेन । बाबुको माया कस्तो हुन्छ भन्ने महसुससमेत नगरेकी सुमी आमाको छातीमा टाँसिएर बसी मात्र रही ।
    शरीरमा बल र घमण्डको तुजुक रहुञ्जेल मान्छे शक्तिशाली हुन्छ । जब शरीरमा बल र घमण्ड क्षीण हुँदै जान्छ तब मान्छे निशस्त्रीकरण र आश्रयहीन हुन्छ र जीवन जिउनको लागि परिवार र आफन्तलाई सम्झिरहन्छ । बद्रीमा हिजो घमण्ड थियो । शरीरमा शक्ति थियो । उचाल्ने माानिस दायाँबायाँ थिए । त्यसैको मातमा रमामाथि अन्याय गरिरहेका थिए । जब शरीरमा शक्ति रहेन् तब कान्छी श्रीमतीले पनि छोडेर गइन् । सहाराबिहीन भएर भौतारिरहेका थिए । रमा दयावान् थिइन् । सहनशील थिइन् । आगाको ज्वाला पिएर पानी बनेकी थिइन् । यही सम्झेर बद्री करिब बिस वर्षपछि आफ्नै गुँड फर्की आएका थिए ।
    बद्रीको मन भतभती पोलिरहेको थियो । मनभित्र पश्चात्तापको राँको दन्दनी बलिरहेको थियो । मुटु त झन ढुकढुक भड्किरहेको थियो । “रमा ढोका खोल” भन्न पनि सकिरहेका थिएनन् । तै पनि रमाले नै ढोका खोलेर भित्र बोलाउँछिन् कि भन्ने भावले आँगनीमा उभिइरहे । रात क्रमशः ढल्किँदै थियो । भित्रबाट कुनै प्रतिध्वनि नसुनिएपछि बद्री आफैँले आँट गरेर भने“ रमा म तिम्रै स्वार्थी लोग्ने हुँ । तिम्रो लागि त म लोग्ने भन्न सुहाउने व्यक्ति पनि छैन तैपनि म तिम्रो शरणमा आएको छु । शरणलाई मरण दिनु तिम्रो दायित्व पनि हो । तिम्रो हृदयको कुनामा लेस दया छ भने मलाई क्षमा गरेर भित्र आउन देऊ ।”
    बद्रीको स्वरले रमाका मथिङ्गल नराम्ररी हल्लिए । उनी थरथर काम्न थालिन् । बद्रीले आपूmप्रति गरेका व्यवहार एकेक गर्दै आँखावरिपरि घुम्न थाले । उनी केही बोल्न सकिनन् । आमाको त्यस्तो अवस्था देखेर सुमीले भनी “आमा गल्ती मान्छेबाटै हुन्छ । आमा म तपाईँको आश्रयबाट यो स्थानसम्म आइपुगेकी हुँ । आज बुबा पनि पश्चात्तापको भारी बोकेर हाम्रै सहारा खोज्दै आउनुभएको छ । हिजो जे भयो भयो ती सबै कुरालाई बिर्सिदिनुहोस् । आजबाट फेरि नयाँ जीवन बिताउँला । बुबालाई भित्र बोलाउनुहोस् ।”
    छोरी सुमीका कुरा रमा मान्न तयार भइनन् । उनी व्रmोधले व्याकुल भइन् । छोरीसँग रमाले भनिन् “अहँ छोरी उनलाई मैले स्वीकार गर्न सक्दिँनँ ।” “आमा तपाईँ त्यति निष्ठुरी नबन्नुहोस् । तपाईँले मेरो चरित्र सुधार्न के भन्नुभएको थियो थाहा छ ? हो म तपाईँको त्यही एकवचनले नयाँ कुर्ता किन्न छोडेर तपाईँले देखाउनुभएको बाटोमा हिँडेकी थिएँ । आमा तपाईँले मलाई सुमी मानिसलाई राम्रो देख्ने त लुगाफाटाले होइन, चालचलन,शील स्वभाव र चरित्र हो भन्नुभएको थियो । यो भनाइ तपाईँको अन्तर दिलबाट आएको भए हिजोका घटना बिर्सेर चरित्र सुधार गरी घर आउनुभएका बुबालाई भि बोलाउनुहोस् । ” सुमीका कुराले रमाको अन्तर्हृदयमा मातृवात्सल्य उम्लिएर आयो । छोरीलाई छातीमा टाँस्दै भनिन् “छोरी तिमी त कति ठुली भइछौ मैले त तिमीलाई सधैँ सानै देखिरहिछु ।”
    त्यसपछि रमाले ढोका खोलिन् । हिजो रमाको खुसीमा पर्खाल बनेका बद्री आज रमाको अगाडि निर्बल सावित भएर उभिएका थिए । भारी मन लिएर भित्र प्रवेश गरे । अनुहार निन्याउरो बनाउँदै सुमीका मुखमा हेरिरहे । पश्चात्तापको ज्वालाले बद्रीको मन भतभती पोलिरह्यो ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै