Home मनोरञ्जन चलचित्र/मोडल पल शाहले नावालिक बलात्कार अभियोगबाट सफाइ पाए

पल शाहले नावालिक बलात्कार अभियोगबाट सफाइ पाए

0
पल शाहले नावालिक बलात्कार अभियोगबाट सफाइ पाए

भाद्र २१‚ काठमाडौं । अभिनेता पल शाह (पूर्णविक्रम शाह) ले नाबालिग बलात्कार अभियोगबाट सफाइ पाएका छन्।

जिल्ला अदालत नवलपुरका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले मंगलबार उक्त फैसला गरेका हुन्।

बलात्कार आरोपबाट सफाइ पाए पनि पलले बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र १० लाख क्षतिपूर्ति  पाएको नवलपुर अदालतका स्रेस्तेदार महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए।

‘पल शाहले बलात्कार अभियोगबाट सफाइ पाएका छन्, उनको मुद्दा बाल यौन दुरूपयोगमा झरेको छ,’ उनले भने, ‘बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय फैसला भएको छ।’

जिल्ला अदालत नवलपुरबाट उक्त फैसला भए पनि तनहुँ जिल्ला अदालतमा भने नाबालिग बलात्कार मुद्दा विचाराधीन छ।

जिल्ला अदालत नवलपुरमा मंगलबार पीडित नाबालिगका तर्फबाट सरकारी वकिल डालबहादुर नेपाली, कमलराज पन्थी र बुद्धबहादुर थापाले बहस गरेका थिए भने पलका तर्फबाट वरिष्ठ अधिवक्ता कमलामोहन काफ्लेसहित ७ जनाले बहस गरेका थिए।

पलले सुटिङका क्रममा तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै एक नाबालिग गायिकाले उजुरी दिएकी थिइन्। पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो । तनहुँ प्रहरीमा गत फागुन ११ गते र नवलपुर प्रहरीमा फागुन १५ गते उनका बुवाले उजुरी दिएका थिए।

प्रहरीले नाबालिग बलात्कार अभियोग दर्ता गरेपछि तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।उक्त आदेशविरूद्ध पल शाह उच्च अदालत पोखरामा पुनरावेदन गराएका थिए। उच्च अदालतले पनि जिल्ला अदालतकै आदेश सदर गरेको थियो ।

तनहुँ र नवलपुर दुवै जिल्ला अदालतमा गत वैशाखमा बकपत्र गर्दा पीडित नाबालिग र उनका बुवाले बयान फेरेका थिए। बकपत्रमा नाबालिगले आफूमाथि बलात्कार नभएको बताएकी थिइन् भने उनका बुवाले पनि छोरीले दिएकै बयान ठिक भएको बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here