काठमाडौं‚ चैत्र १४ । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा बिजुली कटौती थालेको छ । भारतको प्रतिस्पर्धी बजारबाट प्रतियुनिट ३८ रुपैयाँमा पनि बिजुली खरिद गर्ने गरी ‘बिड’ (बोलकबोल) गर्दा पनि अरुले नै महंगोमा किनेपछि उद्योगमा साँझ र रातिको समयमा बिजुली कटौती सुरु गरेको हो । यसले उद्योगहरुमा अघोषित ‘फोर्स लोडसेडिङ’को अवस्था आएको छ ।
बिजुली किन्दा बिड नपरेका दिनमा साँझ देखि विहान ६ बजेसम्म उद्योगहरूमा अवस्था हेरेर बिजुली कटौती हुनसक्ने प्राधिकरणका प्रवक्ता तथा भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले बताए । उनका अनुसार बिड नपरेका दिनमा साँझ र राति उद्योगहरूमा ३३० मेगावाटसम्मको बिजुली कटौती गर्न थालिएको छ । रूस-यक्रेन युद्धका कारण कोइलाको अभाव चर्किएपछि भारतमा बिजुलीको मूल्य उच्च दरमा पुगेको छ ।