तीजले बिदा माग्ने बित्तिकै दैलोमा अर्को नारीप्रधान चाडले ढकढक्याँउदछ, स्वागत छ यो ऋषि पञ्चमीको दिन विशेषमा । तीजको व्रत पछि फेरि दिदिवहिनी अनि आमाहरुले आजको दिन पुनः त्यहि उत्सर्ग र उत्साहकासाथ मनाउने दिन हो ‘ऋषि पञ्चमी’ ।
ब्रह्माण्ड पुराण अनुसार भाद्र शुक्ल पक्षको पंचमी तिथिलाई ऋषि पंचमी भनिन्छ । पौराणिक कथा अनुसार चतुर्थी युक्त पंचमी तिथि ऋषि पंचमीको लागि ग्राह्य मानिन्छ ।
भविष्योत्तर पुराणमा भनिएको छ भगवान ईन्द्रले त्वष्टा ऋषिको छोरा वृत्तासुरलाई मारेपछि ब्रह्माजीले भगवान ईन्द्रले गरेको पापलाई मोचन गर्न त्यो पापलाई चार ठाउँमा बाँडिदिए । जसअनुसार पहिलो पापको पूल्ठो अग्निको धूँवा मिश्रित ज्वालामा, दोश्रो नदिहरुमा बग्ने फींज भएको बर्षाको जलमा, तेश्रो पहाड पर्वतमा भएका रुखमा उम्रिने एञ्जेरु तथा सेपमा बसेको ढुङ्गाको काइको रुपमा तथा चौथो नारीजातिहरुको रजस्वालाको रुपमा । यसकारण मासिक धर्मका समय लाग्नेपापहरुको निबृतिको लागि यो व्रत महिलाहरुद्वारा गर्ने चलन बसेर गयो ।
यो पौराणिक कर्म हो । यसका उप द्रष्टा ऋषि सबरतमा हुन् । उनैले दिएको सल्लाह र निर्देशन अनुसार यो ब्रत बस्ने चलन चलेर गएको हो । मध्यान्हकालको स्नान, रेशमी कपडा को पहिरन, शाकाहारी बिशेष गरी हलो कोदालोले नाजोते नखनेको जिनिसको भोजन, ऋषि पत्नी अरुन्धती सहित सप्त ऋषिहरुको पूजा यस ब्रतको बिशेषता हो ।
आजको दिन रजस्वाला हुन शुरुभइसकेका महिलाहरुले रजस्वाला हुँदा आफूबाट केही गल्ति या अमर्यादित क्रियाकलाप भएको भए ती कुराहरुको शुद्धाशुद्धिकालागि पूजा अर्चना गर्ने दिन हो । मानव श्रृष्टि नारीहरुविना संभव छैन र हामीले रजस्वालालाई जत्तिकै लुकाएर अनि छुवाछुत उन्मुख सोंचले हेरेपनि श्रृष्टिको प्रथम र पूण्य गुणनै नारीहरुको रजस्वाला हो । रजस्वाला नारीहरुको गर्भाधान गर्नसक्ने क्षमताको प्रतिक अनि उनीहरूमा हुने एउटा नितान्त प्राकृतिक प्रक्रिया हो ।
ऋषि पञ्चमीको इतिहास हजारौं वर्ष पुरानो छ र त्यतिकै पुरानो छ वैदिक सनातन संस्कारले नारीहरुको यौन तथा प्रजजन स्वास्थ र अधिकारलाई दिएको महत्वको इतिहास । नारीलाई रजस्वालाको दिनहरुलाई चारवटा देवीहरु अनुरुप तुलना गर्ने चलन छः प्रथम दिन चण्डालनी, दोश्रो दिन ब्रह्मधातिनी, तेश्रो दिन धोबिनी र चौंथो दिन स्नान गरि शुद्ध हुने चलन छ ।
शास्त्रहरुले पनि रजस्वाला र महिलाहरूको यस प्राकृतीक गुणप्रति समस्त मानव जगतको ध्यानाकर्षित गर्न ऋषि पञ्चमीको परिकल्पना गरेको हुनपर्दछ । गर्भाधान नभएका डिम्बहरु महिलाको गुप्ताङ्गबाट निष्काषित हुने सरल र सामान्य प्रक्रियानै रजस्वाला हो । यसलाई कुनै दोष भन्दा पनि एउटा विशेष क्षमता र श्रृष्टिको कारकका रुपमा अभिब्यक्त गर्दै आजका दिनमा रजस्वालालाई नितान्त सामान्य अनि छुवाछुत भन्दा पनि सरसफाईलाई प्राथमिकता दिंदै, महिलाहरुलाई यस अवधिभर आराम र ख्याल गर्ने वातावरण सृजनाको प्रतिबद्धता कायम गर्न जरुरी छ ।
पारिवारिक सुख, शान्ति, आरोग्यता, धन धान्य, असल सन्तान, बैभव र विजय प्राप्तिकोलागि तथा महिला महिनावारीका समय स्त्री र पुरुषद्वारा परिवारमा जानेर, नजानेर हुन पुगेका त्रुटी र गरिएका पापकर्म निवारणको लागि यो ब्रत नेपालमा गरिने चलन चलेर गएको हो । शास्त्रले यो ब्रत स्त्री र पुरुष दुबैले लिनु पर्ने बताएको भएता पनि नेपाली समाजमा चाहि महिलाले मात्र यो ब्रत लिने गरेको देखिन्छ ।
आजको दिन नारीहरुले उपमार्ग अर्थात् एउटा विशेष प्राकृतीक जडिवुटी गुण यूक्त वनस्पतिको प्रयोग गरेर विहान आफ्नो नित्यकर्म सकाएपछि दात माँज्ने र चपाउने गर्दछन, उपमार्ग नेपाली माटोमा सहज रूपले उपलब्ध एउटा वनस्पति हो । संस्कृत शब्द उपमार्ग भन्नाले रोग नाशक भन्ने बुझाउँदछ । १०८ वटा उपमार्गका डाँठका टुक्राहरुको प्रयोग गरेपछि आफ्नो शरीरमा माटोको प्रयोग गरेर नारीहरुले नजिकैको खोलानाला या तालतलैयामा गएर स्नान गर्ने गर्दछन । स्नान गरिसकेपछि पञ्चभाग्य अर्थात दूध, दहि, घ्यू, दुवो, कुश र गोवर मिसाएर तामाको भाडोमा राखिएको कुराको एक वा दुइ थोपा सेवन गर्ने सनातन चलन पनि चलि आएको छ ।
पञ्चभाग्यको सेवनले क्षयरोग अनि चर्मरोगहरु नहुने र भएको भए पनि निको हुने विश्वास रहेको छ । यसरी विहानै स्नान गरेर शरीर र आत्माको शुद्धि गरिसकेपछि नारीहरुले दियो, कलश अनि गणेश स्थापित गरेर विभिन्न भजन र प्रार्थनागर्दै कश्यप, आरती, भार्गदोज, विश्वमित्र, गौतम, जमदग्नी अनि वशिष्ठलगायतका ऋषिहरुको पूजा र आव्हान गर्ने गरिन्छ । त्यस्पश्चात् ब्राम्हणले रितिअनुसार पूजा अर्चना गरेपछि मात्र ऋषि पञ्चमीको अनुष्ठान पूर्ण हुन्छ ।
बशिष्ठ ऋषिकी पत्नी अरुन्धतीको पूजा गर्दा स्त्री बर्गले सौभाग्य सामाग्रीहरु अर्पण गर्नु पर्दछ । ऋषि पंचामिको पूजा सामग्रीमा वेलपत्र नभई नहुने पूजा सामग्री हो ।
यस व्रतमा ब्रतीले हलोले नजोतेको, कोदालोले नखनेको साग प्रयोग गर्नु भन्ने बचन रहेकोले नेपाली समाजमा पूजा सकिएपछि कर्कलोको साग, समाको भात खाने चलन छ । यस व्रतमा साग/नीवारहरु/साँवा (श्यामाक) / कन्द-मूल / फलफूल बाहेक अरु कुरा खाइन्न । हलो, कोदालो द्वारा उत्पन्न चिज बिज अन्नपात खाइदैन ।
ब्रह्मचर्यमा रहनु यसको अनिबार्य नियम हो । पारिवारिक आनन्द सौभाग्य वृद्धि, अज्ञात पापबाट मुक्ति, शारीरिक सौन्दर्य, सद बिचारी छोरा छोरीको प्राप्ति यस चाडको लक्ष हो ।
आज काठमाण्डौ टेकुको ऋषेश्वर मन्दिर लगायत देशभरिका विभिन्न ऋषि आश्रमहरुमा विशेष घूँइचो लाग्नेगर्दछ । यस दिन नारीहरुले आफ्नो शौभाग्यका सुचक सिन्दुर पोते अनि चुरा धागोहरु चढाउने चलन पनि छ । आजको दिन विशेषतः माटोमा कसैले नरोपेरै आफै प्राकृतिकरुपमा उम्रिएका कुराहरु जस्तै कर्कलालगायतका अन्य कन्दमुलको विशेष तरकारी बनाई सेवन गर्ने चलन छ ।
वैदिक सनातन हिन्दु संस्कारको वैज्ञानीक चाडहरुमध्ये एक ऋषि पञ्चमीको शुभकामना । अबका दिनमा छुवाछुत र छौपडीका कारणले चेलीबेटीले दुःख पाएको अनि मृत्यूवरण गरेका नमिठा खबरहरु सुन्न नपरोस्, यस जगले रजस्वालाको महत्व चालपाओस् ।
सप्तऋषिहरुको कृपा सदैव रहोस्, सबैजना सुखी होउन्, सबैको जय होस् !