Home Blog

रचना रिमाल र राजन बरालको “माया सिम्ले छौ कि जल्किनी” गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । लोकप्रिय गायिका रचना रिमाल र गायक राजन बरालको स्वरमा रहेको लोक आधुनिक गीत “माया सिम्ले छौ कि जल्किनी” बडा दशैँ २०८० फुलपातीको छेको पारेर सार्वजनिक भएको छ ।

डा. खगराज बराल (श्रमिक) को शब्दमा रहेको यस गीतको सङ्गीतमा राजन बराल, संगीत संयोजन र गितारमा मनोहर सुनाम, सारङ्गीमा हेमन्त कान्छा रसाइली, बाँसुरीमा गोपाल देव, रिदममा भरत बुढाथोकी छन् । मुनलाइट इन्टरनेसनल मिडिया प्रा. लि. ले निर्माण गरेको यस म्युजिक भिडियोमा श्याम ढकालको निर्देशन रहेको छ ।

नगरकोट र साँखुको प्राकृतिक दृश्यमा छायाङ्कन गरिएको यस म्युजिक भिडियोको छायाङ्कन कृष्ण महराले गरेका छन् । युवा वयका दुई मायालु जोडीबीच पिरतीले भरिएको यस म्युजिक भिडियोमा नव उदीयमान कलाकार सन्तोषकुमार दाहाल र देवी त्रिपाठीको अभिनय रहेको छ ।

म्युजिक भिडियो

पद्मश्री पुरस्कार घोषणाः साहित्यतर्फ सुवेदी, साधनातर्फ वात्स्यायन र गौरवतर्फ शर्मालाई प्रदान

असोज ८, काठमाडौं । खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले २०७९ को पद्मश्री पुरस्कार र सम्मान घोषणा गरेको छ ।

प्रतिष्ठानले तीन शीर्षकमा विभाजन गरी फरक क्षेत्रमा योगदान गर्ने कला तथा साहित्य सर्जकलाई सम्मान तथा पुरस्कार दिने भएको हो । साहित्यतर्फ सुवेदी, साधनातर्फ वात्स्यन र गौरवतर्फ शर्मालाई प्रतिष्ठानले छनोट गरेको छ ।

पद्मश्री साहित्य पुरस्कारतर्फ समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास सुवेदीलाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्राप्त १८० पुस्तक मध्येबाट पहिलो चरणमा १५ र दोस्रो चरणमा परेका पाँच सूचीभित्र परेका पुस्तकबाट ‘मनु’ छनोट भएको खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले जानकारी दिएको हो ।

अन्तिम पाँच पुस्तकको सूचीमा मनुसहित इजोरिया, ऐंठन, शून्यको मूल्य र मफलर थिए । पद्मश्री साहित्य पुरस्कार पाएको ‘मनु’ ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो ।

यसैगरी, प्रतिष्ठानले प्रदान गर्दै आएको प्रद्मश्री साधना सम्मान कार्टुनिस्ट दुर्गा बराल (वात्स्यायन) लाई प्रदान गरिने भएको छ । चित्रकला र कार्टुनको क्षेत्रमा वात्स्यायनले लामो समय व्यतीत गरेका छन् ।

साथै, गत वर्षदेखि मात्रै सुरु गरिएको पद्मश्री गौरव पुरस्कार काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई प्रदान गरिने भएको छ । शिक्षा क्षेत्रमा शर्माले गरेको योगदानलाई कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

तीनवटै पुरस्कार कोजाग्रज पूर्णिमाको दिन वितरण गरिनेछ । सबै पुरस्कारको राशि तीन लाख रुपैयाँ रहेको छ ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण (यस्ता छन् कार्यक्रम)

असोज ६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल भ्रमणका क्रममा अहिले चीनको हाङचउ पुगेका छन् । न्युयोर्कमा संयुक्त राष्ट्र संघको ७८औं महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री दाहाल शनिबार बिहान चीनको हाङचउ पुगेका हुन् ।

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई शनिबार हाङचउ विमानस्थलमा चीन सरकारका खेलकुद सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष काओ झिदानले स्वागत गरेका थिए ।

प्रधानमन्त्री दाहाल १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन चीनको उत्तर दक्षिणी सहर हाङचउ पुगेका हुन् । हाङचउमा प्रधानमन्त्री दाहाललाई चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष काओ झिदान र नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायतले स्वागत गरेका थिए ।

न्युयोर्कको ५ दिने भ्रमण सकेर प्रधानमन्त्री दाहाल ८ दिने चीन भ्रमणमा निस्केका हुन् । चीनको हाङचउमा हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी भएपछि प्रधानमन्त्री दाहाल द्विपक्षीय भेटवार्तामा सहभागी हुनेछन् ।

न्युयोर्कबाट दाहालको सचिवालयसहित परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र अन्य परराष्ट्र मन्त्रालयका अधिकारी चीनतर्फ लागेका हुन् ।

प्रधानमन्त्री दाहालले शनिबार नै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हाङचउमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । आइतबार प्रधानमन्त्री दाहाल हाङचउबाट बेइजिङ जानेछन् भने सोमबार चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री दाहालको चीन भ्रमणको तालिका

सेप्टेम्बर २३: एसियन गेम्सको उद्घाटनमा सहभागी हुने र हाङचउमै राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने

सेप्टेम्बर २४: हाङचउबाट बेइजिङ जाने

सेप्टेम्बर २५: चिनियाा प्रधानमन्त्री ली छियाङसँग द्विपक्षीय भेटवार्ता गर्ने

सेप्टेम्बर २६: छोङछिङ महानगरमा कृषि र उद्योग अवलोकन गर्न जाने

सेप्टेम्बर २७ र २८: तिब्बतको ल्हासा र वरिपरिको क्षेत्र

सेप्टेम्बर २९: मानसरोवर जाने

सेप्टेम्बर ३०: नेपाल फर्कने

प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज अन्त्य हुने

वैशाख १५, काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज अन्त्य हुने भएको छ । संसद सचिवालय स्रोतको अनुसार आजको बैठक नै हिउँदे अधिवेशनको अन्तिम बैठक हुनेछ ।

International Convention Centre, Nepal - Wikipedia

आजको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अन्मिनको प्रमाणीकरणमा अयोग्य ठहर भएका लडाकूहरुलाई रकम दिने विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारी छ ।

त्यसमा सरकारले जवाफ दिनेछ । सभामुखले १० वटा विषयगत समितिमा रहने सदस्यहरु पनि जानकारी गराउने कार्यसूची छ ।

तर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन विशेष समिति भने नबन्ने भएको छ । प्रमुख तीन दलबीच केही दिन पहिले विशेष समिति बनाउने सहमति भएको थियो । तर प्रमुख प्रतिपक्षी एमालेले अहिले तयार नभएकाले आजको बैठकले समिति नबनाउने सत्तारुढ दलका एक सांसदले जानकारी दिए ।

लघु कथासङ्ग्रह शुभांशु विमाेचित

शुभ शर्माको शुभांशु विमोचन २०८० वैशाख १३ गते बुधबार रोयल ब्याङ्केट तीनकुने बानेश्वर काठमाडौँमा शुभ शर्माबाट लेखिएको शुभांशु लघुकथासङ्ग्रह विमोचन कार्यक्रम सम्पन्न भएको छ । स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा साहित्यककार ध्रुव मधिकर्मी, प्राडा कपिल लामिछाने, लघुकथा केन्द्रका अध्यक्ष लता केसी, उपाध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष डा. शेखरकुमार श्रेष्ठ, कृतिकारका पिता झगलाल गैरे, नन्दकला बराल तथा कृतिकार शुभ शर्माले सामूहिक रूपमा उक्त कृति विमोचन गरेका थिए ।May be an image of 1 person, temple and text that says 'शुभ शर्माकृत शुभांशु लघुकशासडग्रह विमोचन कार्यक्रम स्थान रोयल हमेन्टस वेन्क्वेट एन्ड रेस्टुरेन्ट तीनकुने, काठमाडी मिति २००० वैशाख १३ गते बुधवार 625 आयोजक आयो क हामो लघुकशा पाठशाला (हामो लघुकथा केन्द्र) काठमाडी'

उक्त कार्यक्रम हाम्रो लघुकथा पाठशाला (हाम्रो लघुकथा केन्द्र) को आयोजनामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा हाम्रो लघुकथा पाठशाला नाम परिवर्तन भई हाम्रो लघुकथा केन्द्र जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा विधिवत् रूपमा दर्ता भएको जानकारीसमेत आयोजक संस्थाले गराएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले शुभ शर्माको कथाले नेपाली समाजको यथार्थता चित्रण गरेको कुरा बताउँदै हाम्रो लघुकथा केन्द्र दर्ता भएकोमा शुभकामना दिएका थिए भने विशिष्ट अतिथि ध्रुव मधिकर्मीले शुभांशु कृतिले शुभको साहित्यिक जीवन सुरुआत गरी अरू स्रष्टालाई पनि कृति प्रकाशनका लागि मार्गदर्शन गरेको कुरा बताएका थिए ।May be an image of 9 people and text

त्यसै गरी अर्का विशिष्ट अतिथि कपिल लामिछानेले शुभांशु लघुकथासङ्ग्रह नारी लिखित कास्की जिल्लाको पहिलो लघुकथासङ्ग्रह हुन सक्ने कुरा बताएका थिए । संस्थाका सदस्य सत्या अधिकारीको स्वागत मन्तव्य र गङ्गा दाहाल न्यौपानेको स्वागत गीतबाट शुभारम्भ गरिएको उक्त कार्यक्रममा शुभ शर्माले आफ्ना पिता झगलाल बरालको पचहत्तरौँ जन्म दिनको उपलक्ष्यमा उपहारस्वरूप उक्त कृति विमोचन गरिएको कुरा बताइन् । विमोचन कार्यक्रममा चन्द्रप्रसाद न्यौपाने, एएनके गोतामे, मुकुन्द पौडेल, भरत आचार्य, मोहन कायस्थ, छन्द गायक शिव त्रिपाठी आदिले कृति सफलताका लागि शुभकामना मन्तव्य राखेका थिए ।May be an image of 4 people, people studying and people smiling

उक्त कार्यव्रममा महाकाव्यकार एएनके गोतामे, रत्न विरही घिमिरे, शिव घिमिरे, शेखर अर्याल, मोहन कायस्थ, छन्द गायक शिव त्रिपाठी, गायत्री चापागाईँ, सिकारु राम, चिरञ्जीवी सिग्देल, मधुसूदन घिमिरे, गङ्गा पौडेल कर्माचार्य, मन्दिरा मधुश्री, एकता केसी, ओमकुमारी बन्जारा, रमेश सुवेदी, लघुकथा केन्द्रको व्यवस्थापन समूह, सहयोगी समूह, कृतिकारका आफन्तलगायत छ दर्जन स्रष्टा तथा साहित्यिक अनुरागीको उपस्थिति थियो । उक्त विमोचन कार्यक्रम संस्थाका सहसचिव बिमुन्स पौडेलले सञ्चालन गरेकी थिइन् भने उपाध्यक्ष शेखरकुमार श्रेष्ठको सभाध्यक्षमा सम्पन्न भएको थियो । उक्त विमोचन समारोहमा सबै अतिथि वक्ताहरूले हाम्रो लघुकथा केन्द्र दर्ता भएकोमा बधाईसमेत ज्ञापन गरेका थिए भने सभाका अध्यक्ष शेखरकुमार श्रेष्ठले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै संस्था दर्ताका लागि परोक्षअपरोक्ष रूपमा सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका थिए ।May be an image of 3 people, people smiling and temple

लता केसीको अध्यक्षतामा दर्ता भएको हाम्रो लघुकथा केन्द्रमा उपाध्यक्ष डा. शेखरकुमार श्रेष्ठ, सचिव रामराजा केसी, सहसचिव मिना पौडेल, कोषाध्यक्ष सत्या अधिकारीलगायत निर्मला बराल, मदन पोखरेल, वन्दना घिमिरे, दामोदर अधिकारी, मिसु श्रेष्ठ थपलिया र गङ्गा दाहाल न्यौपाने सदस्य रहेका छन् ।

शैक्षिक सेवालाई डिजिटल बनाउँदै खल्ती

सञ्चार हाउस । डिजिटल वालेट खल्तीले “खल्ती-डिजिटल शैक्षकि सेवा“ शुरु गर्ने भएको छ । खल्तीले बीआईएम एशोसियसन अफ नेपाल (बिमान) सँगको सहकार्यमा उक्त सेवा शुरु गर्न लागेको हो । उक्त सेवा सम्बन्धमा दुई संस्थाबीच आधिकारिक रुपमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा खल्तीका अफिसर रभिन्स पोखरेल र बिमानका संस्थापक अध्यक्ष सुरज भट्टराईले एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् ।

पैसा साथमै बोक्नु पर्ने, फी तिर्नकै लागि काम नै छाडेर बैंक तथा स्कुलमा लाइन बस्नुपर्ने जस्ता अनेकन समस्याहरू विद्यार्थी अभिभावकलाई परिरहेकाे मर्कालाई ध्यानमा राखेर उक्त कार्यक्रम ल्याएको खल्तीका अफिसर रभिन्स पोखरेल बताउँछन् ।
यस्ता अनेकन समस्याको समाधानमा हाम्रो सहयात्राको सुरुआत भएको संस्थाका बिजनेस हेड निरज कार्कीले बताए । कार्कीले भने, हामीले जुन तरिकाले हाम्रो डिजिटल स्कुल कलेजका लागि सिस्टम बनाएका छौं यसले शतप्रतिशत सकारात्मक प्रभाव पार्नेमा हामी विश्वस्त छौं ।’

सूचना प्रविधि व्यवस्थापन सम्बन्धित शैक्षिक संस्था भएकाले विगत केही समयदेखि नै कुनै न कुनै माध्यमबाट प्रविधिकाे प्रयोगलाई प्रोत्साहन गर्ने कार्य गरिरहेको बिमानका संस्थापक अध्यक्ष सुरज भट्टराईले बताए ।

भट्टराईले भने, ‘खल्तीसँगको यो सहकार्यले शैक्षिक संस्था तथा उक्त संस्थासँग सम्बन्धित विद्यार्थी तथा अभिभावकलाई यसले थप सहज गराउने विश्वास छ ।’

खल्ती-डिजिटल शैक्षिक सेवामा कस्तो सुविधा रहेको छ ?

खल्ती-डिजिटल शैक्षिक सेवाअन्तर्गत कुनै पनि शैक्षिक संस्थाले सिधै खल्तीको एप, वेब तथा आफ्नै अनलाइन प्लेटफर्ममा आफ्नो पेमेन्ट प्रोफाइल बनाई सजिलै भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क लगायत आफ्नो संस्था अनुरूप कस्टमाइज पेमेन्ट डिजाइन गर्न सक्नेछन् । सजिलाे पेमेन्टसँगै निशुल्क स्प्यारो एसएमएस सिस्टम, रिजल्ट सिस्टम तथा बल्क टपअप, बैंक ट्रान्सफर तथा खल्तीबाट खल्ती ट्रान्सफरका लागि कर्पोरेट अकाउन्ट, क्यु आर सिस्टम समेत प्रधान गरिने अफिसर रभिन्स पोखरेलले जानकारी दिए ।

साथै, यो सेवा प्रयोग गर्न पनि सहज छ । कुनै पनि शैक्षिक संस्थाले आफ्नो कम्पनी दर्ता प्रमाणपत्र, प्यान वा भ्याट प्रमाणपत्र र आधिकारिक  लोगोसहित खल्तीमा सम्पर्क गरेमा बाँकी काम खल्तीबाटै प्रकृया अघि बढाइने छ । त्यस्तै, खल्तीको डिजिटल स्कुल कलेज सिस्टम इन्ट्रिग्रेट गर्न कुनै शुल्क नलाग्ने खल्तीका तर्फबाट रोजिनाले जानकारी दिइन् ।

हालसम्म सेन्ट जेभियर्स, ग्लोबल म्यानेजमेन्ट, सेन्ट म्यारिज, मदरल्याण्ड, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट जस्ता अन्य थुप्रै स्कुल कलेजले खल्तीमा आवद्ध भइसकेका छन् । उनीहरुले खल्तीको सेवा लिइ आफ्नो सस्टिमसमेत डजिटिलाइज गरिसकेको जनाइएको छ ।

खल्तीका सह संस्थापक अरबिन्द शाह पनि शैक्षिक क्षेत्रलाई प्रविधियुक्त र पहुँचमा पुर्याउन कम्पनी निरन्तर लागि परेको बताउँछन् । साथै, कलेज र विश्वविद्यालयको ढाँचा अनुरूप सिस्टमलाई कस्टमाइज गराउनु खल्तीको अर्को उद्देश्य रहेको पनि उनले बताए ।

यस्तो छ प्रचण्डको पहिलो चरणको मन्त्रीमण्डीय गठन

पुस ११, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमा सोमबार ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

उपप्रधानमन्त्रीमा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री नियुक्त भएका एमालेका ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई तथा जनमत पार्टीका अब्दुल खानको मन्त्रालय तोकिएको छैन ।

तीन उपप्रधानमन्त्रीमध्ये पौडेल र श्रेष्ठले यसअघि उपप्रधानमन्त्री भएर काम गरिसकेका छन् भने लामिछाने नयाँ अनुहार हुन् ।

बाँकी ४ जना मन्त्रीहरु पनि सरकारमा नयाँ अनुहार हुन् । अर्थात, आठ सदस्यीय मन्त्रिमण्डलमा नयाँ पुराना अनुहारको समिश्रण देखिन्छ ।

विश्वकपकाे ट्रफि अर्जेन्टिनाले उचाल्याे, फ्रान्सकाे पेनाल्टी मिस हुँदा हार

0

पुस ३, काठमाडाैँ । पेनाल्टी सुटबाट फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई ४–२ ले पराजित गर्दै विश्वकप २०२२ को उपाधि जितेको छ । निर्धारित समय सकिएपछि अतिरिक्त समयको खेल ३–३ को बराबरीमा टुंगेपछि खेल पेनाल्टीमा गएको हो । टाइब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेसी, पउलो डेबेला, लियोनार्पो पेरेडेस र गोन्जालो मोन्टेलले गोल गरे ।

फ्रान्सका लागि केयलिन एमबापे र कोलो मुनीले मात्र गोल गरे । किङ्सली कोमन र चोमेनीले गोल गर्न सकेनन् । रोमाञ्चक खेलमा फ्रान्सले दुई पल्ट आफू पछाडि रहेको स्थिति उल्टाएको थियो । फ्रान्सका लागि एमबापेले पेनाल्टीबाट १ सय १८ औं मिनेटमा तेस्रो गोल गरे र यो उनको ह्याट्रिक रह्यो ।

त्यसको ठीक अगाडि मेसीले १ सय नवौं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अग्रता दिलाएका थिए । फ्रान्सले दोस्रो हाफको अन्त्यतिर उत्कृष्ट पुर्नआगमन गरेपछि फाइनल अतिरिक्त समयमा गएको थियो । पूरा ९० मिनेटको समय सकिएपछि पेनाल्टी खेल समाप्त खेल २–२ को रोमाञ्चक बराबरीमा रहेको थियो ।

अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ ।

शेखरकुमार श्रेष्ठको लघुकथाका दुई पुस्तक एक साथ विमोचित

सुसेली साहित्यिक प्रतिष्ठान र हाम्रो लघुकथा पाठशालाको संयुक्त आयोजनामा गत शनिबार साहित्यकार शेखरकुमार श्रेष्ठका ‘छाता’ र ‘बोकाको खुसी’ दुई लघुकथासंग्रह विमोचन गरियो ।

दक्षिणकाली नगरपालिका-३ सेतीदेवी माविमा आयोजना गरएको उक्त कार्यक्रममा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, वरिष्ठ आख्यानकार ध्रुव मधिकर्मी, लघुकथा समाज नेपालमा सदस्य रामकुमार पण्डित, हाम्रो लघुकथा पाठशालाका व्यवस्थापक सत्या अधिकारी, नमस्ते आधुनिक लघुकथा मञ्चका व्यवस्थापक शेखर अर्याल, लघुकथा सौन्दर्यका एडमिन श्रीराम राई, साहित्यकार कात्यायन, वीरेन्द्र बलामी, शान्ता तिम्सिना, दीपक लामिछाने, मधुसूदन घिमिरे, संगीता ढुंगाना दाहाल, गोमा लुइँटेल, लक्ष्मी पौडेलले संयुक्त रूपमा कृतिको विमोचन गर्नु भएको थियो ।

नगर प्रमुख मोहन बस्नेतले साहित्यले जीवनलाई सार्थक तुल्याउने र समाजको समृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएको हुँदा नगरपालिकाको समृद्धिको लागि सुसेली साहित्य प्रतिष्ठानसित सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । दीपक लामिछानेले श्रेष्ठको उक्त क्षेत्रमा अतुलनीय योगदान रहेकाले सहकार्य गर्दै जाने बताउनुभयो ।

विमोचित दुवै कृतिबारे समीक्षक शेखर अर्यालले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । उहाँले श्रेष्ठको लघुकथामा सामाजिक यथार्थता, विकृति-विसंगतिविरुद्ध दरिलो प्रहार,सामाजिक चेतनाको पक्षपोषण आदि सशक्त रूपमा आएको बताउनुभयो ।

उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी, रामकुमार पण्डित, श्रीराम राईले कृतिकारलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा कष्णकुमार श्रेष्ठ, विरेन मालाकार लगायतले विमोचित कृतिका लघुकथा वाचन गर्नुभएको थियो ।

कार्यक्रममा सुसेली साहित्यिक प्रतिष्ठानले दक्षिणकाली नगरपालिकाका साहित्यकार एवं लेखक चिनाउने पुस्तकका साथै फर्पिङ जन्मभूमि भएका वरिष्ठ साहित्यकार किशोर पहाडीको जीवनी र कृतित्वबारे पुस्तक प्रकाशन गर्ने योजना रहेको बताउनुभयो ।

कार्यक्रममा शान्ता तिम्सिनाले हाम्रो लघुकथा पाठशालाकी संस्थापक लता केसीबाट पठाइएको शुभकामना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य रमेश बलामीले स्वागत मन्तव्य राखेका थिए। नेपाली लघुकथाकार पूर्णप्रसाद ब्राह्मणको तस्वीरमा माल्यार्पण, लघुकथा गान बजाएर तथा राष्टिय गान गाएर शुरू भएको उक्त कार्यक्रममा स्थानीय समाजसेवी, साहित्यकार, विद्यार्थीको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रम प्रतिष्ठानका अध्यक्ष आवेश मिश्रको अध्यक्षता र सविता केसीको उदघोषणमा सम्पन्न भएको थियो।

नेपाली पब्जी टिम टीटूके विश्वकपको फाइनल चरणमा

काठमाडौं‚ मंसिर १२। नेपाली टिम ट्रेण्ड टू किल (टीटूके) पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणमा प्रवेश गरेको छ ।

विश्व च्याम्पियनसिपको छनोट प्रक्रिया पार गरी प्रतियोगिता खेलेका नेपालका तीन टिममध्ये टीटूकेले सबैभन्दा ठूलो सफलता पाएको हो । यो नेपाली पब्जीकै सबैभन्दा ठूलो सफलता हो । टीटूकेका अभिशेकसिंह, सुयोग मुल्मी, वसन्त गौतम, सन्देश प्रधान र रिग्देन बज्राचार्यले यो सफलता दिलाएका हुन् ।

एल्लो ग्रुपमा रहेको टीटूकेले समूहमा रहेका १६ टिममध्ये तेस्रो हुँदै फाइनल चरणमा प्रवेश पाएको हो । जापानको आरसी टिमसँग समान २१४ अंक रहे पनि प्रदर्शनका आधारमा टीटूके भाग्यमानी बनेको हो । यो समूहबाट मलेसियाको गीक टिम २९२ अंक र मलेसियाको फोर एएमले २३१ अंकका साथ क्रमसः शीर्ष र दोस्रो स्थानमा रहेर फाइनल चरणका लागि छनोट भएका हुन् ।

तेस्रो संस्करणको पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा पहिलोपल्ट नेपालबाट तीन टिम छनोट भएका हुन् । यसअघि नेपालको डीआरएसले मात्र खेलेको थियो । डीआरएस समूह रेडमा छैटौं स्थानमा रहेर सर्भाइभल चरणका लागि छनोट भएको छ । अर्को नेपाली टिम स्काईलाइट्ज समूह ग्रीनमा रहेर नवौं हुँदै सर्भाइभल चरणका लागि छनोट भएको छ ।

समूह चरण र सर्भाइभल चरणका खेलहरु मलेसियामा भइरहेको छ । तीन समूहमा शीर्ष चारदेखि एघारौं स्थानमा रहेका टिमबीच सर्भाइभल चरणमा प्रतिस्पर्धा हुनेछ । यो प्रतिस्पर्धा मंगलबारदेखि चार दिनसम्म चल्नेछ ।

सर्भाइभल चरणमा पुगेका २४ टिममध्ये १६ टिमले अन्तिम अवसर चरणमा प्रवेश पाउनेछन् । बाँकी ८ टिम बाहिरिनेछन् । अन्तिम चरणमा १६ टिमबीच प्रतिस्पर्धा गरी पाँच टिमले फाइनल चरणमा प्रवेशका लागि अर्को अवसर पाउनेछन् ।

फाइनल चरणका लागि तीन समूहबाट शीर्ष तीन गरी ९ टिम र सिधै आमन्त्रण गरिएका दुई टिम छन् । बाँकी पाँच टिमको टुंगो लाग्न बाँकी छ । फाइनल चरणका खेलहरु इण्डोनेसियाको जाकार्तामा सन् २०२३ को ३ र ४ जनवरीमा सन्चालन हुनेछ ।

समूह चरणमा कुल पुरस्कार राशी २ लाख ५० हजार डलर रहेको छ । समूहको स्पर्धामा तेस्रो भएको टीटूकेले ८० हजार अमेरिकी डलर पुरस्कार पाउने निश्चित भइसकेको छ । फाइनल चरणमा उसको प्रतिस्पर्धाका आधारमा पुरस्कार बढ्दै जानेछ । फाइनल चरणको नतिजाका लागि मात्र १ लाख ५० हजार अमेरिकी डलर कुल पुरस्कार छ ।