Sunday, October 13, 2024
थप

    बाँदरबुटी र मर्कटाचल पर्वत (भुकण्डे डाँडा)

    बाँदरबुटी दक्षिणकाली नपा वडा नं. ७ गोपालेश्वर उपभोक्ता वन क्षेत्रभित्र अवस्थित भुकुन्डाँडा (भूतचुट्ने डाँडा) को सेरोफेरोमा पाइन्छ । भुकुन्डाँडालाई नियालेर हेर्दा बाँदरजस्तै आकृतिको देखिन्छ । त्यसैले यो ठाउँलाई बाँदर डाँडा अर्थात् मर्कट पर्वत भनेर पनि चिनिन्छ । विभिन्न पुराणहरूमा यो ठाउँ मर्कटाचल पर्वत नामले प्रसिद्ध छ । यसै परिसरमा पाइने एक विशेष प्रकारको औषधीयुक्त झारको नाम नै बाँदरबुटी हो ।

    यहाँ बाँदर भन्नाले हिन्दु धर्मको पवित्र धार्मिक ग्रन्थ रामायणको गाथामा उल्लेखित रामभक्त हनुमानलाई बुझिन्छ । हनुमान र यहाँको बाँदर या मर्कट पर्वत अनि बाँदरबुटीको सम्बन्ध बारेमा एउटा रोचक किंवदन्ती रहेको छ । हिन्दु धर्म अनुसार सत्य, त्रेता, द्वापर र कलियुग गरेर सम्पूर्ण समयलाई चार भागमा विभाजन गरिएको छ । रामायणको गाथा अनुसार त्रेता युगमा सत्यवादी राम र रावण(राक्षस) बीच लामो समयसम्म घमासान युद्ध भयो । युद्धको क्रममा रावण पुत्र ईन्द्रजित(मेघनाथ)को अस्त्र प्रहारले रामका भाइ लक्ष्मण मूर्छित भए । यसरी इन्तु न चिन्तु अवस्थामा रहेका लक्ष्मणलाई बचाउन विभिन्न उपायहरूको खोजी भयो ।

    यस सन्दर्भमा लङ्काका प्रसिद्ध वैद्यराज सुषेणसँग सम्पर्क गरियो र उनले लक्ष्मणको स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरी उनलाई बचाउने हो भने सञ्जीवनी बुटी आवश्यक पर्ने कुरा सुझाए । उक्त बुटी द्रोणाचल पर्वतमा रहेको र भोलिको उज्यालो नहुँदै अर्थात् आजको रात नढल्दै लेराएर खुवाउन वा उपचार गर्न सके मात्र लक्ष्मण बाँच्न सक्ने कुरा समेत बताए । यसपछि उक्त काम रामभक्त हनुमानले मात्र गर्नसक्छ भनेर तत्काल निर्णय गरी हनुमानलाई तुरुन्त द्रोणाचल पर्वत गई सुषेणले भनेअनुसारको उक्त बुटी खोजेर रात नवित्दै लेराउनको लागि रामले काम अह्राए । रामको आज्ञा शिरोपर गर्दै हनुमान तत्काल द्रोणाचल पर्वत प्रस्थान ग¥यो र त्यहाँ पुगी सञ्जीवनी बुटीको धुइँधुइँती खोजी गर्न थाल्यो । रातको समय भएकाले उसले उक्त बुटी सजिलै पहिचान गर्न सकेन । अलमल गर्ने उसँग समय पनि थिएन । त्यसैले द्रोणाचल पर्वत नै बोकेर रातको समयमा आकाशमार्ग हुँदै वायु वेगमा हानिँदै मरणासन्न अवस्थामा रहेका लक्ष्मण भएको ठाउँमा आउँदै थिए । तुफानसरी आउँदै गर्दा बाटोमा हनुमानको हातबाट उक्त पर्वतको एक टुव्रmा तल खस्यो । त्यसरी खसेको सानो टुक्रा यही भुकुन्डाँडाको सेरोफेरो हो भन्ने भनाई रहेको छ । पछि गएर हनुमानको हातबाट खसेको उक्त पर्वतको नाम बाँदर पर्वत अर्थात् मर्कटाचल पर्वत नामले प्रसिद्ध भयो । हाल यो स्थान भुकुन्डाँडा, झपाँ ख्यः, वन गणेश, गोपालेश्वर वन आदि नामले प्रसिद्ध छ ।

    यसरी उत्पत्तिको कथा भएको मर्कटाचल या बाँदर पर्वतको परिसरभित्र अनेक थरीका जडिबुटीजन्य वनस्पतिहरू, बोट बिरुवा प्रशस्त मात्रामा पाइन्छन् । किंवदन्ती अनुसार यहाँ सञ्जीवनी बुटी समेत पाइन्छ तर व्यक्तिले पहिचान गर्न सक्नुपर्छ ।

    यहाँ पाइने थरीथरीका जडिबुटीजन्य वनस्पतिहरूमध्ये बाँदरबुटी एउटा महत्वपूर्ण दुर्लभ वनौषधी वा कन्दमूल हो । बाँदरबुटीलाई स्थानीयहरू बाँदरपेटी पनि भन्ने गर्दछन् । यो सानो बिरुवाजस्तै स्वरूपको औषधीजन्य झार हो । यो वर्षायाममा उम्रन्छ र फैलिन्छ । यसको बोट जमिनमाथि लगभग ४ देखि ६ इन्च सम्म अग्लो हुन्छ भने जमिनमुनि लगभग ४-५ इन्च जरा गढेर बसेको हुन्छ । यसका पात चुच्चो परेको कल्की फूलको पातजस्तै सानो आकारको, तर नरम र केही थोरै झुसिला हुन्छन् । यसको बोटमा पहेँलो फूल फुल्छ र सोही फूलबाट बीज बनेर भुईँमा झर्छ र अन्य बिरुवाहरू उम्रन्छन् । यसको बोट हाँगा हाँगामा बाँडिएर फैलिएको हुन्छ । यसको बोट प्रत्येक असार यामको तातो तापव्रmम र पर्याप्त बर्षात्को समयमा उम्रेर लगभग असोज महिनासम्म बाँच्दछ । यस किसिमको वनस्पति प्राचीनकालदेखि नै यही स्थानमा पाइन्थ्यो भन्ने भनाई रहेको छ । अर्को शब्दमा बाँदरबुटी उत्पत्तिको मूल थलो भनेको मर्कटाचल पर्वत(भुकुन्डाँडा)नै हो भन्ने भनाई रहेको छ । बाँदरबुटी बोटमा धेरै पातहरू हुन्छन् । यसको बोटदेखि जरासम्मको आकृतिलाई झट्ट हेर्दा हनुमानले बोक्ने गदाजस्तै देखिन्छ र यसमा पुच्छरजस्तो छोटो जरासमेत हुन्छ । यसको मूल जराको सुरुको भागमा एउटा गाँठो हुन्छ । उक्त गाँठोको बाहिरी भाग कालो कालो रङको भए पनि भित्री भाग कोट्याई हेर्दा सेतो रङको देखिन्छ । यसै गाँठोलाई औषधीको रूपमा प्रयोग गरिन्छ । यसको बोक्रै वा बोक्रा छोडाएर खान सकिन्छ । उक्त जराको गाँठोलाई काँचै वा कुटेर रस निकाली थोरै तातो पानीमा मिसाएर सेवन गर्न सकिन्छ । काँचो नै खाने हो भने नछिप्पिँदै खानुपर्छ ।

    प्रायः पेटका बिरामीले जड औषधीका रूपमा प्रयोग गर्ने बाँदरबुटी फाइबरयुक्त कन्दमूल हो । पेट कुटुकुटु खाने, अपच, कब्जियत, अरुचि आदि पेट सम्बन्धी समस्या भएका मानिसको लागि यो एउटा अचुक औषधी हो भन्ने भनाइ रहेको छ । यसले ठुलो आन्द्रालाई सफा राखी बलियो बनाउन पनि फाइदा गर्छ । यसले भोक जगाउने काममा मद्दत गर्नुको साथै पाचन प्रणालीलाई चुस्त र दुरुस्त राख्न पनि फाइदा पु¥याउँछ । यसको स्वाद थोरै टर्रो टर्रो समेत हुने भएकोले सुगर र प्रेसर रोगीलाई पनि फाइदा पुग्छ भन्ने कुरा स्थानीय जानकारहरू बताउँछन् । यद्यपि यसको मुख्य गुण भनेकै पेटसम्बन्धी विभिन्न रोगहरूमा फाइदा पुर्याउनु हो ।

    सारतत्व निकाली औषधी बनाएर व्यबसायिक कार्य नभए पनि बाँदरबुटीको आयुर्वेदिक महत्वचाहिँ धेरै रहेको छ । योबाहेक यस मर्कटाचल वा बाँदर पर्वतमा मानव स्वास्थ्यलाई लाभ गर्ने धेरै थरीका वनौषधीहरू छन् । यसमध्ये केही न्यून मात्रामा स्थानीय वैद्यहरूले औषधीको रूपमा प्रयोगमा ल्याउँदै आइरहेका छन् भने धेरै धेरै जडिबुटीहरू अपरिचित भएर लुप्त अवस्थामा रहेका छन् । हालसम्म यसको कुनै गहन खोज अनुसन्धानहरू भएका छैनन् । यहाँ छरपस्ट रूपमा काफल, कटुस, जमुना, क्यामुना, कुकुर दाहिनो, नुनढिके, धसिङगरे, धङ्गेरी, गुर्जु लहरो, दत्तीवन, देवर, मयल, ऐँसेलु, चुत्रो इत्यादि थुप्रै थरीका औषधीजन्य रुख बिरुवा तथा झारपातहरू पाइन्छन् । वास्तविक भन्दा यसको फाइदा बेफाइदाबारेमा योजनावद्ध मूल्याङ्कन नै नगरी गरिएको उपभोगबाट मानिस मात्र नभई पशुहरू पनि स्वस्थ छन् । स्थानीय बुढापाका तथा झारफुके वैद्यहरूले यसको प्रयोग गर्न सुझाव दिएर वा प्रयोग गर्न लगाएर धेरैजसो रोगहरू जादुमय तरिकाले निदान गराउँछन् । तर यसको लागि विश्वास र धैर्यता चाहिन्छ । नत्र यो कुरा जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पा बिँड भनेजस्तै हुनसक्छ ।

    तर आजभोलि वनभित्रै डोजर चलाउने तथा अन्य अव्यवस्थित निर्माण कार्यले गर्दा यहाँ पाइने औषधीयुक्त वनस्पति तथा जैविक विविधता नासिने खतरामा परेका छन् । कतिपय जडिबुटीयुक्त रुख बिरुवा तथा झारहरू संरक्षणको अभावमा लोपोन्मुख अवस्थामा पुगिसकेका छन् । यसबाट प्राणीको जीवनमा विस्तारै विभिन्न सङ्कटहरू आउन थाल्दछन् । त्यसैले आफ्नो परिवेशका जाडबुटीजन्य वनस्पति, रुख बोट, झारहरूको समुचित प्रयोगबाट स्वस्थ जीवन जिउन सकिने भएकाले यसको उचित संरक्षण गर्नुपर्छ । यिनीहरू मानव स्वास्थ्यजगत्कै सम्पत्ति हो यसलाई लोप हुनबाट बचाउन सचेत हुनुपर्छ ।

    विश्वमा महामारी तथा विभिन्न मानवीय सङ्कट निम्तियो भने स्थनीय परिवेशको जैविक औषधिको प्रयोग नगरी धरै छैन । यो यथार्थ आजको दिनमा आइपरेको मानवीय सङ्कटले पनि देखाएको र सिकाएको छ ।

    अन्त्यमा,

    विभिन्न ग्रन्थहरूको अध्ययन गरौँ । खोजी र अनुसन्धान गरौँ । जडिबुटीजन्य वनस्पतिहरू चिनेर त्यसको ठिक उपयोग गरौँ । यसको संरक्षण गरौँ । यसको सदुपयोग गरेर स्वास्थ्यको रक्षा गरौँ । हाम्रो तन, मन र बुद्धि सबै स्वस्थ्य राखौँ । मानव धन बचाऔँ । धन्यवाद ।

    शशिराज अर्याल, फर्पिङ, काठमाडौं

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै