कोपिलाको परिचय
नेपाली साहित्याकाशमा बिभिन्न विधाहरु रहेका छन् । कविता, कथा, निबन्ध, मनोवाद आदि आदि। त्यसरि नै मुक्तक, गजल आदि पनि रहेका देखिन्छन् । माथि उल्लेखित विधाहरु मध्ये कतिपय स्थापित भैसकेका छन् भने कतिपय स्थापित हुन संघर्षका चरणमा छन्। नेपाली साहित्यमा रहेको प्रायः बिधाहरु आयातित रुपमा रहेका देखिन्छन् । हाल सम्म नेपालमै सिर्जना सुरुवात भएर अघि बढिरहेका बिधा भनेर भन्न नसकिरहेको अवस्थालाई चिर्दै नेपाली माटोमै उत्पति भएको कविता अन्तर्गतको एउटा बिधा नै कोपिला हो। साह्रै सहज, सबै विषयबस्तु, भाव कसेर लेख्न सकिने मौलिक काव्य बिधा कोपिलाको परिकल्पना चितवनमा रहेर साहित्य साधनामा लागिरहनुभएका साहित्यकार श्री गिरिराज डल्लाकोटीले गर्नुभएको हो । २०७७ बैशाख १ गते नया वर्षको आगमन सँगै सामाजिक सञ्चालमा लगभग दश जना मालीहरु द्वारा एक साथ आ आफ्ना फेसबुक वालमा कोपिला डालीहरु प्रस्तुत गरेर यसको सुरुवात गरिएको थियो। हाल यो बिधामा सयौँ प्रकृति र पुरुष मालीहरुले कलम तिखारी रहनु भएको छ भने विश्वभर यसको प्रभाव फैलिरहेको छ । कोपिला बिधाको विकास,विस्तार र सम्बर्द्धनका लागि कोपिला साहित्य समाज दर्ता भै कार्यरत रहेको पनि छ।
कोपिलाका आधारभूत सिद्धान्तहरु:
१. कोपिला एउटा छोटो मौलिक नेपाली सरल कविता विधा हो ।
२. कोपिलाको संरचनामा तीन हरफहरु हुन्छन् । पहिलो र तेश्रो हरफहरुलाई पातहरु भनिन्छ । यिनीहरुलाई क्रमश: माथिल्लो पात र तल्लो पात भनिन्छ र यिनीहरु एक अर्को स्थानमा स्थानान्तरण हुनसक्छन् । दोश्रो हरफलाई मुना भनिन्छ ।
३. पातहरुमा अनुप्रास र स्थायीको प्रयोग हुन्छ भने मुनामा अनुप्रास र स्थायीको प्रयोग हुँदैन । अनुप्रास भनेको अन्य कविता विधाहरुमा प्रयोग हुनेजस्तै अनुप्रास हो भने स्थायी भनेको अनुप्रासभन्दा पछि आउने वा अनुप्रासमा समास भएको शब्द वा शब्दहरु बुझिन्छ । मुना स्वतन्त्र शब्दहरुमा लेखिन्छ ।
४. कोपिलाको मूलभाव मुनामा रहेको हुन्छ भने पातहरुले मूलभावलाई सिङ्गार्ने, पुष्टि गर्ने, रस थप्ने, उपमा दिने, बिम्ब सम्प्रेषण गर्ने, व्यङ्ग्य गर्ने आादि कार्य गर्दछन् । पातहरु र मुनाको बिचमा घनिष्ठ सम्बन्ध हुन्छ ।
५. कोपिलाको संरचनामा दुबै पातहरु बराबर लम्बाइका हुन्छन भने मुना पातहरुभन्दा १ देखि ५ अक्षरसम्म लामो हुन्छ ।
६. पातहरुमा ३ देखि १५ सम्म अक्षरहरु राख्न सकिन्छ भने मुनामा ४ देखि १८ सम्म अक्षरहरु राख्न सकिन्छ ।
७. कोपिलामा अक्षर गणना गर्दा उच्चारणअनुसार गरिन्छ । अथवा लेखाइका आधारमा हैन कि वाचन तथा गायनका आधारमा गणना गरिन्छ ।
८. कोपिलामा पातहरुको अन्तिम स्वरमा असंगति हुनुपर्छ । अथवा पातहरुकोभन्दा मुनाको अन्तिम स्वर भिन्न हुनुपर्छ ।
९. कोपिलामा चिन्हहरुको प्रयोग स्वतन्त्र हुन्छ ।
१०. कोपिला लेख्दा वा छाप्दा पातहरुभन्दा मुना लामो देखिनेगरी लेखिन्छ, छापिन्छ ।
११. कोपिला वाचन गर्दा मूलभाव उजागर गर्नकालागि शुरुमा मुना, पात र पात वाचन गरिन्छ र पछि पात, मुना र पात वाचन गरिन्छ । पात, मुना र पातको वाचन गर्दा माथिल्लो वा तल्लाव जुनसुकै पातबाट पनि शुरु गर्न सकिन्छ ।
१२. कोपिला नेपाली साहित्यिक धरातलमा सिर्जना भएको विधा भए पनि यो जुनसुकै भाषामा पनि सजिलै लेख्न सकिन्छ ।
१३. नेपाली भाषामा लेखिएको कोपिलामा सकेसम्म ठेट नेपाली शब्दहरुको प्रयोग गरिन्छ । लोपोन्मुख नेपाली शब्दहरुलाई यसै विधामार्फत संरक्षण गर्न सकिन्छ । विशेष परिस्थितिमा यसमा कथ्यभाषाका शब्दहरु पनि प्रयोग गर्न सकिन्छ ।
१४. कोपिला सर्जकलाई माली भनिन्छ । माली पुरुष भए पुरुष नै र महिला भए प्रकृति भनिन्छ ।
१५. पाँच वटा कोपिलाको समूहलाई डाली भनिन्छ । दसवटा डालीको समूहलाई बोट भनिन्छ । बाह्रवटा बोटको समूहलाई बगैंचा भनिन्छ ।
१६. कोपिला लेख्दा डाली र कोपिलाको संख्या दिई लेखिन्छ । उदाहरण स्वरुप दुई डाली कोपिला कोपिला –
डाली-१
१. दिउँ भने मिठो मन्तव्य छैन
न धन छ,न ठूलो पद कसले पत्याउने
सोचेजस्तो कतै गन्तव्य छैन।
२. हर पथमा काँडा छन्
जहिल्यै संघर्ष जिन्दगी पनि कस्तो
जता सुकै डाँडा छन्
३. मान्छेको स्वार्थीपना कस्तो
सबैभन्दा चेतनशिल प्राणी हो भन्छन्
इश्वरको खै रचना कस्तो
४. कुरे पनि हटाउँदैनन्
अर्कैले अड्डा जमाईसकेछ मुहारमा,
मेरा नजर अटाउँदैनन्
५. वजेट छरपस्ट गर्छन्
कागज मिलाएर भ्रष्टाचार गर्नेहरु
विकास सबै नष्ट गर्छन् कोपिला
डाली-२
१. हुनेलाई खात खात भयो
केहि होला लागेको थियो लोकतन्त्रमा
निर्धालाई विस्मात भयो ।
यहाँ मन उदार कहाँ छ
पढ्ने, खेल्ने उमेरमा मागेर खानुपर्छ
खै बाल अधिकार कहाँ छ।
२. सडकमा बस्नुपर्छ
मागेर खानु बाध्यता हो मेरो
नत्र पेट सक्नुपर्छ।
३. अवस्था नै बेहाल छ
रहर थिएन यो सडकमा माग्ने
पापी पेटको सवाल छ।
४. कसैमा नि सदाचार छैन
देखे पनि नदेखे झैँ गरिदिन्छन् दु:ख
मेरो लागि सरकार छैन।
५. आशैमा जीउनु कति हो
फेरिदैन कहिल्यै जीवन शैली पनि
पसिना पिउनु कति हो।
धन्यवाद । जय कोपिला ।
– लक्ष्मी स्मृति
महासचिव
कोपिला साहित्य समाज