१. वैशाख जेठ निशेधाज्ञा होला जस्तो छ
असार मसान्तमा कर उठाउन खुल्ला जस्तो छ ।
२. देशमा कोरोना पोहोर पनि आको हो
बितेको सालको बन्दाबन्दीमा पनि यस्तै भएको थ्यो ।
३. सुरक्षा अपनाउनु पर्छ भन्छन्, काठमाडौं बसेर फुक्छन्
रोगको कुरा अर्कै आधा जनता खान नपाएर सुक्छन् ।
४. परदेशी भूमिमा सङ्घर्षरत छन् जनताहरू
त्यसको रेमिट्यान्स हात पार्न लालाहित नेताहरू ।
५. श्रमशक्ति खेर गइरहेछ, जमिन बाँझो छ
राज गर्ने नेताजीको बुद्धि बोधो छ ।
६. गाउँगाउँमा बाँझो जमिन बीउ खोजिरहेछ
परिश्रमी युवा हात परदेशको बाटो रोजिरहेछ ।
७. नीति बन्छन् देशमा सधैं आयातको
पसिनाको विक्रि युवा निर्यातको ।
८. रोगलेभन्दा रोकले काम अड्कियो
गर्छु भन्ने परिश्रमी हात अन्तै भड्कियो ।
९. कोरोना पनि तातेरै आएछ
भेटेजति सबैलाई खाएछ ।
१०. देशमा नीति छिनछिनमै फेरिन्छ
हात बाँधि मन बाँधि के पो हेरिन्छ ?
सविता के.सी. (सबु) काठमाडौं
झर परिचय
– शिव खनाल जीवम
झर साहित्य यात्रा
झर २ पङ्तिको काव्यिक विधा हो । मिति २०७७ जेठ ३ गते प्रवर्तन भएको झरका दर्जनौं लेख, १० औं हजार रचनाको भण्डारले नेपाली साहित्य भरिलो बनिसकेको छ । दुई पङ्तिको रचना भएपनी संरचनागत विविधताले गर्दा यो यति छिटो फुल्न फल्न सकेको भन्न सकिन्छ ।
१. झर भन्नाले २ पङ्तिका, छोटो, प्रभावशाली, स्वच्छन्द साहित्यिक रचनाहरु हुन् । झर लाई सृजनात्मक एकाईको रूपमा व्याख्या गर्न सकिन्छ ।
२. झरलाई अक्षर सँख्यामा बाँधिएको छैन ।
३. सामान्यतया झरको पहिलो पङ्तीमा विषयवस्तुको उठान गरिंन्छ र दोस्रो पङ्तीमा त्यसलाई पुष्टि गरिन्छ ।
४. झरका प्रकार हरुसंरचनागत रूपमा झरका धेरै प्रकारका हुन्छन् :
१. अन्त्यानुप्रास भएको तर दुई पङ्तिमा समान अक्षर नभएको झर । जस्तै-
देशमा घाउ लागेको छ
नेतामा कुर्सीको भोक जागेको छ ।
२. अन्त्यानुप्रास भएको र दुई पङ्तिमा समान अक्षर भएको झर । जस्तै-
अक्षोभ्य नेता राजनीतिको भेल
जुन पार्टी आए नि स्वार्थको खेल ।
३. अन्त्य अनुप्रास नभएको झर :बाछिटा, हाईकु, उदक, साईनो लगायतका लघुविधाहरुमा अन्त्यानुप्रास अनिवार्य गरिएको छैन । यही शैलीमा गहन अभिव्यक्ति दिने अन्त्यानुप्रास नभएका झर रचना गर्न सकिन्छ । जस्तै-
अर्धमुर्छित इच्छा,
सपनामा शिखर आरोहण !
४. छन्दमा झर :दुई पङ्तिको कविताको रूपमा झरलाई छन्दमा समेत लेखिएको छ । तर यी झरलाई मौलिक संरचनाको रूपमा लिईदैन ।
(छन्द : शार्दूलविक्रीडित )
मैले हेर्छु चकोर झैँ नभतिरै चम्की रहेकी तिमी,
मैले भिज्दछु चातकैसरि भई बर्सी रहेकी तिमी ।
५. मुक्तक शैलीको झर:शास्त्रीय रुपमा कविता दुई प्रकारले लेख्न सकिन्छ । छन्द र मुक्तक । झरलाई २ पङ्तिको मुक्तकको रूपमा लिईएको छ । यहीँ शैलीमा लेखिएको झर तल प्रस्तुत् गरिएको छ ।
सपनासँग साइनो गाँसेर हुन्न जिन्दगीमा
अवसर छोप्न नसक्ने रुन्छ जिन्दगीमा ।
६. उक्ति शैलीको झर :गहन जीवन दर्शन बोकेका उक्ति शैलीका पनि केही मात्रामा झर लेखिएका छन् । उक्ति शैलीको झरले तुलनात्मक रूपमा कम काव्यात्मक स्वरुप बोक्ने देखिएकोले यस शैलीको झर लेख्न प्रोत्साहन गरिदैन । तर अग्रज स्रष्टाले यही शैलीमा लेखेर झरलाई उचाई प्रदान गर्नुभएको छ । जस्तै-
आँखा उघारेर हेर,
पत्थरमा ईश्वर देखिन्छ !
७. उखानटुक्का शैलीको झर :उखान टुक्का झरमा पर्दैनन् । तर त्यही शैलीमा लेखिने काव्यात्मक रचना झर बन्न सक्छन् । जस्तै-
सर्प जस्तो विषालु
सबैलाई डस्ने भावना !
८. सरल झर : झर अभिधा, लक्षणा र व्यान्जना शैलीमा लेख्न सकिन्छ । त्यसमा पनि सरल संरचनात्मक बनोट तर गहन सन्देश दिने काव्यात्मक अभिव्यक्ति झर बन्न सक्छन् । जस्तै-
न्याय निलेछ
कालो कोटले ।
९. कृमुक झर :खासगरी सुक्ष्म विधामा अन्त्यमा क्रियापद भए रचना अलिक सुन्दर हुँदैन । यस्ता रचना क्रियामुक्त भए सुन्दर र गहन हुन्छन् । जस्तै-
पारिजातको फुल
बास्ना चारैतिर ।
१०. बिम्ब प्रतिबिम्बित झर :यस्तो झरमा एउटा बिम्बलाई प्रष्ट पार्न दृष्टात्मक प्रतिबिम्व प्रयोग गरिन्छ ।