जेठ २३ गते, काठमाडौँ । नेपालमा कोरोना संक्रमित बिरामीलाई ब्लाक फङ्गस (कालो ढुसी देखिने गरेको छ । कोरोना संक्रमणबाट निको भइसकेका बिरामीलाई यस्तो समस्या देखिने गरेको छ ।
के हो ब्लाक फङ्गस (कालो ढुसी) ?
आँखा, नाक सुन्निने, नाक वरिपरिको छाला कालो हुने, नाकबाट बाक्लो सिँगान आउने, मुख, नाक तथा आँखा वरिपरि दुख्ने, आँखाले धमिलो देख्ने, आँखा सुन्निनेजस्ता लक्षण देखापर्ने रोग नै ब्लाक फङ्गस (कालो ढुसी) हो । (स्रोतः डा. ढुण्डी पौडेल)
यसका लक्षणहरु के के हुन् ?
- ज्वरो आइरहने,
- आँखा र नाक सुन्निने,
- नाक वरिपरिको छाला कालो हुने,
- नाकबाट बाक्लो सिँगान आउने,
- मुख, नाक तथा आँखा वरिपरि दुख्ने,
- आँखा धमिलो देखिने तथा आँखा सुन्निने,
- ढुसीले गर्दा बिरामीको ज्यान जोगाउन आँखा नै काट्नुपर्ने हुनसक्छ,
- आँखाको कालो ढुसी फैलिँदै जाँदा यसबाट संक्रमण नाक हुँदै मस्तिष्कसम्म पुग्ने र बिरामीको मानसिक र शारीरिक चेतना नै गुमाउन पुग्नसक्छ,
- केही घण्टाभित्रै शरीरभर फैलिनसक्छ,
- कतिपय अवस्थामा आँखा काटेर नफाल्दा त्यसले जीवनभर नै सताउन सक्छ (स्रोतः डा. ढुण्डी पौडेल)
कस्ता मान्छेमा देखा पर्छ ?
- रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा,
- मधुमेह रोग भएका व्यक्तिमा,
- एन्टिबायोटिक र स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेहरूमा,
- कोरोनाको उपचारका क्रममा स्टेरोइड र एन्टिबायोटिक औषधि अत्यधिक सेवन गरेका व्यक्तिमा कालो ढुसीको उच्च जोखिम रहन्छ ।
कसरी बच्न सकिन्छ ?
- सफा र सुक्खा मास्क प्रयोग गर्ने,
- डिस्पोजेबल मास्क पुनः प्रयोग नगर्ने,
- नियमित रूपमा हात धुने,
- धेरै धुलो भएको स्थानमा नजाने,
- ओसिलो ठाउँमा नजाने,
- मास्क नियमित लगाउने,
- नियमित हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने,
- घरबाहिर फोहोरमा काम गर्दा सचेत हुने,
- जथाभावी औषधि प्रयोग नगर्ने,
- मधुमेह भएका बिरामीले चिनीको मात्रालाई नियन्त्रण गर्ने, आदि ।
नेपालमा यसको अवस्था कस्तो छ ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न स्थानमा गरी १० जनामा कालो ढुसी रोग लागेको जानकारी दिएको छ । मन्त्रालयका अनुसार हालसम्म वीरगञ्ज, काठमाडाँै, नेपालगञ्ज, कैलालीलगायतका ठाउँमा कालो ढुसीका रोगी पाइएको जानकारी छ । नेपालमा अहिलेसम्म एक दर्जनभन्दा बढी व्यक्तिहरुमा यो संक्रमण पाइएको छ ।
यसको समाधानमा नेपाल सरकारको प्रयास कस्तो छ ?
कालो ढुसीको औषधिसमेत नपाइरहेको अवस्थामा सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) लाई आग्रह गरेर एक हजार भाइल औषधि ल्याइसकेको छ । तत्काल थप दुई हजार भाइल औषधि ल्याउने तयारी भइरहेको छ । कालो ढुसी रोगको संक्र्रमण, रोकथाम र उपचारको लागि सरकारले एउटा कोर टीम बनाएर काम गरिरहेको मन्त्रालयले जनाएको छ ।
यसको औषधिको अवस्था कस्तो छ ?
कालो ढुसीबाट संक्रमितको उपचारमा प्रयोग हुने औषधि भने महंगो र सर्वसुलभ नभएको पनि बताइन्छ । विशेषगरी कालाजारको उपचारमा प्रयोग हुँदै आएको औषधि ‘एम्फोटेरिसिन बी’ औषधि यस्तो संक्रमणका बिरामीमा प्रयोग गरिएको चिकित्सकहरुले बताएका छन् । तर उक्त औषधि पनि सर्वसुलभ छैन ।