– रोशन दाहाल
जुठे भोकमरिले छटपछिएको छ
साने रोगले ओछ्यानमा थलिएको छ
नेताहरु दिनहुँजसो दोसारोपण गर्छन्
त्यही संविधानको एउटा शब्दको विवादमा
भोको जुठे र विरामी साने भन्छन्
‘हामीलाई के काम त्यो खोष्टो संविधानको ?
बूढीआमाको छोरा द्वन्द्वकालमा बेपत्ता पारियो
बूढीआमाका सारा सपना लुटियो
मर्नेबेलामा एक मुठी पानी त कसैले पिलाएन
उनलाई के काम, त्यो खोष्टो संविधानको ?
दिनमा १५ सय जति युवा विदेशिन्छन्
भुन्टेपनि धेरै सम्पति कमाउने आशमा विदेशिन्छ
दिन–रात नभनी काम गर्छ पराई–भूमिमा
अन्त्यमा भुन्टे दुर्घटनामा परेर मर्छ
केही दिनपछि सुनौलो बाकस आँउछ भुन्टेको नाममा
खोल्दा त निर्जिव भुन्टे बाकस भित्र हुन्छ
के काम ती विक्षिप्त परिवारलाई,
त्यो खोष्टो संविधान ?
बाँझो खेत देखेर टोलाउँछन् बूढा किसान
आज हलो जोत्न नसक्ने भएका छन् ती
बूढा भरिया, भारी बोक्न नसक्ने भएका छन्
कोही टोलाए जस्तो देखिन्छन्,
कोहि हरेस खाएजस्तो
के काम बुढा किसान र भरियालाई,
त्यो खोष्टो संविधान ?
मैले पनि अब त धेरै पढिसकेँ
प्रमाणपत्रको चाङ् छ, सिरानीमुनी
रोजगारको खोजिमा ४ जोर जुत्ता फटाइसकेँ
कतै भनसुन मिल्लाकी भनि आफन्त भेट्छु
यो सब चक्कर छाडेर विदेशिने सल्लाह दिन्छन्
अन्ततः म पनि लाग्छु मेनपावर तिर
भन्दैः ‘मलाई पनि के काम अब त्यो खोष्टो संविधान ?’
– बडहरे–९, खोटाङ
हालः मैतिदेवी– काठमाडौँ