– राेशन दाहाल
सार सङ्क्षेप
प्रस्तुत आलेख उपन्यासकार दिल पौडेलको अधुरो जिन्दगी उपन्यास सामाजिक यथार्थतालाई विषयवसतु बनाई त्यसँग सम्बन्धित अनुभूतिको संरचनालाई अभिव्यक्त गर्ने केन्द्रित रहेको छ । उनको नयाँ कृतिका रुपमा औपन्यासिक बनोट र बुनोट गठन गर्न धेरै अपेक्षाहरु बाँकी रहे तापनि नेपाली समाजमा घटेका घटना, सांस्कृतिक, आर्थिक, राजनीतिक संरचनाले प्रदान गरेका विभिन्न अनुभूतिका संरचनात्मक आयामहरुलाई समेट्ने प्रयास स्वरुप अधुरो जिन्दगी उपन्यास यथार्थवादी धारमा संरचित भएको छ । यस आलेखमा प्रेमको अनुभूति, विषमताजन्य अनुभूति, सामाजिक द्वन्द्व, विपरितगामी अनुभूति जस्ता अनुभूतिको संरचनालाई उपन्यासकारले औपन्यासिकता प्रदान गरेको सन्दर्भलाई प्रकाश पारिएको छ । समाज सुन्दर सभ्य र रमाइलो मात्र हैन, विकृतिपूर्ण रहेको छ । समाजमा सामन्ती चिन्तन र व्यवहारले दमन र उत्पीडन व्याप्त भएको छ ।
विषय परिचय
दिल पौडेल (२०२८) साहित्य, राजनीति र सांगठानिक कार्यमा सक्रिय रहेका उपन्यासकार हुन् । पौडेल २०४७ सालमा वर्चस्व मासिक पत्रिका (हेटौंडा) मा सकिन कविता प्रकाशन गरेर नेपाली साहित्यमा भित्रिएका सर्जक हुन् । उनका अधुरो जिन्दगी (उपन्यास, २०५०), केही साहित्यिक कृतिहरुको अधययन (समालोचना सङ्ग्रह, २०६१), प्रजातन्त्र (संयुक्त हाइकु सङ्ग्रह, २०६२), कात्रोमा मेरो देश (कविता सङ्ग्रह, २०६३) जस्ता विभिन्न साहित्यिक कृतिहरु प्रकाशित छन् । यसका साथै उनले विभिन्न पत्रपत्रिकामा लेखरचना तथा साहित्यिक रचना प्रकाशन गर्दै आएका छन् । यसका अलवा पौडेलले मेलम्ची सङ्गम पत्रिकाको प्रधान सम्पादक, मेदिनी साहित्य त्रैमासिकमा सहसम्पादक, नागार्जुन साहित्यिक त्रैमासिकमा सम्पादक भई साहित्यको उत्थानमा योगदान पु¥याएका छन् । उनी त्रिपुर साहित्य समाजका सचिव र सुनगाभा सिन्धु त्रैमासिकका मानार्थ संरक्षक भएर साहित्यको क्षेत्रमा उपस्थिति जनाएका छन् । अधुरो जिन्दगी उपन्यास सामाजिक यथार्थ पक्षलाई विषयवस्तु बनाएर लेखिएको उपन्यास हो । यसका साथै अधुरो जिन्दगी उपन्यासलाई सामाजिक यथार्थ दृष्टिकोणबाट विश्लेषण गरिएको छ ।
सैद्धान्तिक पर्याधार
साहित्यका सामाजिक कारकका साथै कृतिमा चित्रित सामाजिक सन्दर्भहरुको विश्लेषण गर्ने र साहित्यिक कृतिले पार्ने सामाजिक प्रभावको मूल्याङ्कन गर्ने समालोचना नै समाजपरक समालोचना हो । यस समालोचना पद्धतिमा समाजले साहित्यलाई पारेको प्रभाव र साहित्यले समाजलाई पारेको प्रभावको विश्लेषण गरिन्छ । साहित्यकार र उसको चेतनाको सामाजिकताका साथै साहित्यिक कृतिको विषयवस्तु, माध्यम (भाषा) र शिल्पका आधारमा कृतिको सामाजिकतालाई महत्त्व दिएर विश्लेषण गर्नु गर्नु नै सामाजपरक समालोचनाको कर्तव्य हो ।
यसमा तीन प्रकारका सामाजिकताको अध्ययन गरिन्छः
१. लेखकको सामाजिकताः जन्म, वंश, परम्परा, शिक्षा, आर्थिक धरातल आदि
२. कृतिको सामाजिकताः विषयवस्तु, भाषा र शैली
३. पाठकको सामाजिकताः कृतिगत प्रभाव, सामाजिक अभिरुचि, उपयोगिता, मूल्य (यथार्थको अभिलेखन, सामाजिक सुधार, आमूल परिवर्तन आदि)
यो सामाजिकताका केन्द्रीयतामा साहित्य तत्त्वको निरुपण गर्ने, कृतिको व्याख्या र मूल्य निर्णय गर्नुका साथै सम्बन्धित कृतिबाट त्यसमा चित्रित समाजलाई ठम्याई साहित्यको मूल्याङ्कन गर्ने अन्तर्विषयक समालोचना पद्धति हो ।
अठारौँ शताब्दीमा इटालेली गियाम्बाटिस्टा भिकोको (नयाँ विज्ञान, १७७५) कृतिले होमरका महाकाव्यको तत्कालीन ग्रिसेली सामाजिक सन्दर्भबाट विश्लेषण गरेपछि यस पद्धतिको आरम्भ भएको हो । जर्मनेली जे.सी. हर्डरले यसलाई अगाडि बढाएका हर्डरले हुन । उनले प्राचीन ग्रिसेली नाटक र पुनर्जागरणकालीन सेक्सपियरका नाटकको तुलनात्मक अध्ययन गरेर साहित्यकार आफ्नो युग र जातिको चैतन्यबाट गम्भीर ढङ्गले प्रभावित हुने निष्कर्ष निकालेका थिए । त्यसपछि फ्रान्सेली म्याडम द स्टायलले साहित्यको भौतिक आधार, सामाजिक अस्तित्व र सामाजिक संरचनासँग त्यसको क्रियाप्रतिक्रियाबारे व्यवस्थित अध्ययन गरेर समाजपरक समालोचना अघि बढाएका हिप्पोलिट टेनले साहित्य र कलाको उद्भव र विकासमा जाति, युग र परिवेशलाई बढी जोड दिएर समाजपरक समालोचनाको पद्धतिलाई स्पष्ट रुपरेखा दिएका हुन् । यसैबाट समालोचनामा सामाजिक दृष्टिकोणको व्यवस्थित सैद्धान्तिक स्वरुप प्रारम्भ भएको हो । यसमा पनि मार्क्सवादी धारा र गैर माक्सवादी धारा गरेर दुई वटा धारा छन् ।
मार्क्सवादी धारा
कार्ल मार्क्सको आर्थिक, राजनीतिक दृष्टिकोण अनि दर्शन समाजपरक समालोचनाको विकासमा प्रभावशाली भूमिका खेलको छ । यसभन्दा पहिले रुसी समालोचक बेलिन्सिकी र चेरिन्सिकीले कलामा सामाजिक अङ्कन हुने र समाजलाई प्रभावित पार्ने शक्ति पनि रहने तथ्य स्थापित गरेका छन् । मार्क्सले ऐतिहासिक भौतिकवाद र द्वन्द्ववादको सैद्धान्तिक स्थापना गरेर आधार र अधिरचनाको सन्दर्भलाई स्पष्ट पारेको छ । उनले युगको सामान्य सांस्कृतिक पर्यावरणबाट साहित्य प्रभावित हुने र साहित्यमा वर्गद्वन्द्वको सूक्ष्म अभिव्यक्ति हुने बताएका छन् ।
गैरमार्क्सवादी धारा
मार्क्सवादको प्रयोग नगर्ने तर साहित्य र समाजको सम्बन्धलाई समालोचनाका आधार बनाउने भिको, हर्डर, स्टायल हुँदै हिप्पोलिट टेनका स्थापनाहरुलाई गैरमामार्क्सवादी धारा भनिएको छ ।
गैरमार्क्सवादी धाराका प्रमुख मान्यताः समाजशास्त्रका सिद्धान्त र ढाँचाका आधारमा साहित्यिक कृतिको सामाजिकताको विश्लेषण गर्ने तथा साहित्य र कला मानव मात्रका लागि उपयोगी हुने र यी देश, काल, र वर्गबाट पर हुन्छन् भन्ने मान्यता नै गैरमार्क्सवादीवादी धारा हो । यसले प्रकृतवादसँग जोडिएर वा नजोडिएर सामाजिक जीवनका विकृति र नग्नताको चित्रण गर्ने काम गरेको हुन्छ ।
विश्लेषण
अधुरो जिन्दगी उपन्यासमा प्रयुक्त अनुभूतिको संरचनाको विश्लेषण
अधुरो जिन्दगी उपत्यासमा प्रस्तुत गरिएका विभिन्न अनुभूतिको संरचनामध्ये यहाँ पात्रहरुको मनोसंरचनात्मक पृष्ठभूमि र विकास, प्रेमको अनुभूतिको संरचना, विषम अनुभूतिको संरचना, विपरीतगामी अनुभूतिको संरचना, द्वन्द्वात्मक अनुभूतिको संरचना जस्ता उपशीर्षकहरुमा निम्नानुसार विश्लेषण गरिएको छः
पात्रहरुको मनोसंरचनात्मक पृष्ठभूमि र विकास
उपन्यासकार दिल पौडेलको उपन्यास सामाजिक विषयमा लेखिएको उपन्यास हो । अधुरोजिन्दगी उपन्यासको प्रमुख पात्र रवि बाल्यकालदेखि नै जटिल मनोसंरचनामा रुमलिएको छ । उसको मनोदशालाई सरल, जटिल र शिथिल अवस्थामा उपन्यासमा उनेर उपन्यासलाई भावकता प्रदान गर्ने काम उपन्यासकारले गरेका छन् । रविले मातृवात्सल्यपन गुमाउनु, बुबा पलायन हुनु जस्ता घटनाले उपन्यासमा जबरजस्त पृष्ठभूमि निर्माण गरिएको छ । रविमा चिन्ता र पारिवारिक प्रेमको अभावले गर्दा प्रेमिल मनोभाव जागृत भएको छ । यसैकारण रविको मनोसंरचना शंका, भय, ग्लानि, एकल, विचलित, कमजोर र उत्सुकताले संयोजित हुन पुगेको छ । आफ्नो परिवार गुमाउनु परेको पीडाको क्षतिपूर्ति रविले प्रेम गरेर परिपूर्ति गर्न लागेको देखिन्छ ।
उपन्यासमा प्रयुक्त रविको मनोसंरचनात्मक अनुभूतिको अंश
यस्तै परिवेश बिच रवि थापा नवौं श्रेणीको विद्यार्थी भएको थियो । आमाको मृत्यु र बुबाको पलायनपछि तत्कालीन खाडलको गहिराइ थाहा नपाउने बालक रवि थापाको परिवार उसको सानोबुबाको मातहतमा सञ्चालित भएको थियो (अधुरो जिन्दगी, पृ. ८) ।
यस उपन्यासकी नारी पात्र रोमी हो । उसको मनोसंरचना उसको इच्छा र आवश्यकताभन्दा प्रतिकूल प्रकृतिको रहेको छ । रोमीमा प्रेमको भावुकता र रुचीले घच्घच्याएको छ । उसको कलिलो उमेरमा गरेको प्रेम र निर्णयले परिवारलाई जटिल अवस्थाको सामना गर्नु परेको छ । रोमीको बुबाको कठोर, अनुदार दृष्टिकोणबाट उसलाई आफ्नो स्वभावमा बाँच्नु वा बुबासित सम्झौता गर्न दबाब दिएको छ । परिवारको दवावका कारण रोमीमा हीनताबोध, लघुता, अनिर्णय र शंकालु मनोसंरचना निर्माण भएको छ । त्यसैले रोमीको प्रेममा जटिल मोड ल्याएको छ । अध्ययन र प्रेमलाई सँगै लाँदा कस्तो किसिमको समस्या उत्पन्न हुन्छ भन्ने बुझ्न सकेकी छैन् ।
उपन्यासकी नायिका पात्र रोमीकोे मनोसंरचनात्मक अनुभूति यस्तो छः
सिर्फ एकपल्ट तपाईंले मेरी रोमी भन्दिए पुग्छ । … आराम रही आरामको कामनासहित दुःखी रोमीलाई बिदा दिनुस् ।
यस उपन्यासमा प्रयुक्त अर्की नारी पात्र दीपा हो । उसले योजनाहीन, इच्छाहीन र अपेक्षाहीन जीवन भोग्नुपरेको चरित्र चित्रण उपन्यासमा गरिएको छ । दीपा पुरुषप्रधान सामन्ती एवम् लैङ्गिक विभेदमा पिल्सिएकी नारी प्रतिबिम्ब पात्र हो । बाध्यतामा परेर दिपकसँग बिबाह गरेकी दीपाले त्रासद्, भययुक्त, कुण्ठित, दमित, शोसित, उत्पीडित, तनाव र विक्षिप्त अनुभूतिको संरचनामा बाँच्नु परेको छ । नारी पीडाको प्रतिनिधि भएर यसउपन्यासमा दीपा उभिएकी छे । दाइजो नल्याएको कारण मानसिकदेखि शारीरिक उत्पीडन खेप्दै अन्त्यमाः हत्यामा पर्नु परेको छ ।
उपन्यासकी पात्र दीपाको मनोसंरचनात्मक अनुभूति यस्तो छः
….. बिहानै दीपाको लास जलाइएको थियो र रवि र उसको सानोबुबा दुवै पुलिससँग कार्यालय जानुपरेको थियो (अधुरो जिन्दगी, पृ. ९६) ।
अधुरो जिन्दगी उपन्यासमा रविकोजुन मनोवैज्ञानिक आधार एवम् पृष्ठपोषण उपन्यासकारले चित्रण गर्ने प्रयत्न गरेका छन् । यस उपन्यासमा समाजिक परम्परा र आधुनिकताको विषम सीमा रहेको पाइन्छ । रवि आधुनिकतातिर लम्कन लागेको युवा मनुयुक्त व्यक्ति हो । तर समाजको समग्र पर्यावरण उसको अनुकूल धारण्मा विकास नभएको कारण उसले जीवनमा विभिन्न समस्या आएका छन् । बालमनोविज्ञानको मुख्य जग आमा नै हो । आमाको हेरचाहबाट बाल मनोविज्ञान स्वस्थको र सिर्जनशील बन्न सक्छ । कुशल र उचित अनि आवश्यक अभिभावकत्व प्राप्त गर्न नसक्दा रविको आघातपन बढ्न गएको छ र उसमा दबाब र तनावयुक्त अनुभूतिको संरचना विकास भएको छ ।
प्रेमको अनुभूतिको संरचना
अधुरो जिन्दगी उपन्यासमा प्रेमको अनुभूति प्रस्तुत गर्ने प्रयास गरिएको छ । केटौलेपन र प्राकृतिक जैविक आवश्यकताको आधारमा किशोरावस्थामा प्रेमको अनुभूति विकास हुन्छ । प्रेमका दुई रुपमध्ये एक शाश्वत सामान्य जगत्प्रतिको प्रेम र अर्को वैयक्तिक सुखविलासयुक्त विपरित लैङ्गिक आकर्षणको यौनमनोवैज्ञानिक प्रेम रहेका छन् । यहाँ रवि र रोमीका बिचमा चित्रण गरिएका प्रेम यौनमनोसंरचनासित आवद्ध रहेको छ । यी दुई पात्रका बिचमा जीवन साथीको छनोटको उमेरगत चरण र लैङ्गिक आकर्षण जस्ता पक्षले प्रेमको अनुभूतिगत संरचनालाई अघि बढाएको छ । स्कुले जीवनको कलिलो उमेरमा प्रेमको सिकारुपनबाट गुज्रिँदा तिनमा तनाव र दबाबको प्रेमिल अनुभूतिको संरचना विकास भएको छ । प्रेमको स्वभाविक गतिलाई अवरोध गर्ने अस्वाभाविक क्रियाकलाप, समाज र पुस्तान्तरणका फरक धारणाले यस उपन्यासका पात्रहरुमा प्रभाव पारेको छ । रवि र रोमीको प्रेमको प्रारम्भिक यात्राका भावनाहरु यस प्रकारका अभिव्यक्तिमा प्रकट भएका छन् । यिनै प्रेमालाप र आशयबाट तिनका प्रेम सम्बन्धी अनुभूतिको संरचना विकास हुँदै गएको छ । रोमीको प्रेम याचनामा शंका र विश्वास दुवैको सम्मिश्रण रहेको छ ।
विषम अनुभूतिको संरचना
दिल पौडेलको अधुरो जिन्दगी उपन्यास विषम अनुभूतिमा रुमलिएको उपन्यास हो । जीवनमा विचार, भाव, दृष्टिकोण, योजना, आवश्यकता, चाहना र योजनाभन्दा उल्टो परिणाम आएमा विषम अनुभूतिको संरचना निर्माण हुन्छ । यसलाई दार्शनिक रुपमा भन्नुपर्दा सामान्यबाट असामान्य र समाधानबाट समस्यातिर अघि बढेको जीवन परिवेश मानिन्छ । साहित्यकार बालकृष्ण समले नियमित आकस्मिकता भनेर सम र विषम अनुभूतिको संरचना निर्माण हुने दार्शनिक चिन्तन प्रस्तुत गरेका छन् । कतिपयले सोचेको जस्तो नहुँदा भाग्यले ठगेको, भाग्य विधाताको खेल भनेर पनि विषम घटना र मनोसंरचनालाई परिभाषित गरेको पाइन्छ । तर विषम परिवेश र त्यसले उब्जाएको विषम अनुभूतिको संरचनाका कारण पक्षहरुले सामाजिक यथार्थ घटनाको उजागर गरेको छ । यस्ता विषम अनुभूतिको संरचना प्राकृतिक प्रकोप, सामाजिक गति, व्यक्तिका क्रिया र विविध कारणबाट उत्पन्न हुन्छ । व्यक्ति र समाज बिचको विचारमा टकराव उत्पन्न हुँदा साथै व्यक्ति व्यक्तिका बिचमा विपरीत गति र मान्यताले अवरोध पु¥याउँदा पनि विषयम अनुभूतिको संरचना तयार हुन्छ । उपन्यासकार दिल पौडेलले नेपाली समाजका गतिविधिलाई विषयवस्तु बनाएर यहाँ पाइने एवम् भए गरेका विषम घटनालाई उपयोग गरी समाजका व्यक्तिहरुमा उत्पन्न विषम अनुभूतिको संरचनालाई चित्रण गरेका छन् । उपन्यासकार पौडेलले अधुरो जिन्दगी उपन्यासमा रोमी, रवि, दीपा, दिपक, रोमीको बुबा, रविका आमाबुबा, रविका सानो बुबा, सभापति र विविध पात्रहरुको प्रयोग गरी विषम अनुभूतिको संरचनालाई चित्रण गरेका छन् । रवि र रोमीको प्रेममा आएका विषम अनुभूति, दीपा र दिपकको जीवनमा आएका विषम अनुभूति, राकेश र देवीको जीवनका विषम अनुभूति, रोमी र उसका बुबामा आएको विषम अनुभूतिगत संरचनालाई प्रस्तुत उपन्यासमा सामाजिक सन्दर्भ सापेक्ष घटनावलीका आधारमा अभिव्यक्त गरिएको छ ।
विपरीतगामी अनुभूतिको संरचना
प्रस्तुत उपन्यासमा विभिन्न पक्ष र कारक तत्वका कारण विपरीतगामी अनुभूतिको संरचनामा निर्माण भएको अवस्थाको चित्रण भएको छ । मानिसलाई विपरीत मनोदशामा जानुपर्ने कारणहरु सामाजिक भन्दर्भले नै निर्देश गर्दछ । उपन्यासमा यस्तो प्रवृत्तिलाई स्थिति विपर्यास भनिन्छ । यस प्रकारको विपर्यासमा पात्रको मनोदशा र त्यसबाट विपरीत अनुभूति निर्माण हुन्छ । समाजको द्वन्द्वात्मकता, फरक चाहना र आवश्यकता, एकले अर्कोलाई सहजता साथ स्वीकार गर्न नसक्ने अवस्था, सामाजिक, पारिवारिक घटनाक्रमले उल्टो मोड लिनु जस्ता वस्तुगत कारणबाट विपरीतगामी अनुभूतिको संरचना उत्पन्न हुन्छ । अधुरो जिन्दगी उपन्यासमा यस प्रकारका विपरीतगामी अनुभूतिको संरचना रवि, रविका बुबा आमा, दिपक, दीपा, रोमी, रोमीको बुबा जस्ता पात्रमा विकसित भएको अवस्थालाई चित्रण गरिएको छ । विपरीतगामी अनुभूति, विषम अनुभूति, दबाब र तनावको अनुभूति र द्वन्द्वात्मक अनुभूतिमा भिन्नता रहे तापनि यिनका बिचमा निकटवर्ती सम्बन्ध रहेको छ । यी सबै मूल कारण सामाजिक गतिमा अवरोध सिर्जना भई त्यस समाजका व्यक्तिमा उल्टो मनोसंरचनाको विकास भएको छ ।
द्वन्द्वात्मक अनुभूतिको संरचना
अधुरो जिन्दगी उपन्यासमा द्वन्द्वात्मक मनोसंरचनाको आधार भूमिलाई प्रशस्त मात्रामा प्रयोग गरिएको छ । यसकारण यस कृतिमा द्वन्द्वात्मक अनुभूतिको संरचना अभिव्यक्त भएका छन् । विपरीतगामी चिन्तन, विचार र दृष्तिकोणबाट द्वन्द्वात्मक अनुभूतिको संरचना निर्माण हुन्छ । उपन्यासका पात्र रवि, रोमी, रोमीको बुबा, दिपक, दीपाजस्ता पात्रहरुमा भएको आन्तरिक र बाह्य द्वन्द्वात्मक अनुभूतिको संरचनालाई अभिव्यक्त गरेका छन् । रवि र रवि बाँचेको समाजको बिचमा उत्पन्न भएको द्वन्द्वात्मक परिस्थिति, पुरुष प्रधान मानसिकता, अशिक्षा, अज्ञानता र तीव्र व्यक्तिवादी महत्वाकाङ्क्षाको विकास जस्ता पृष्ठभूमिले पनि समाजमा द्वन्द्वात्मक अवस्था निर्माण गरेको छ । रोमी र उसका बुबाका बिचमा उत्पन्न भएको द्वन्द्वात्मक अवस्था र दिपक र दीपाको रहस्यमय तरिकाले हत्या गरेर नारी र पुरुष बिचको द्वन्द्वात्मक अनुभूतिलाई बढाउने काम गरेको छ । अत्याचारले मान्छेको विचार नमारे पनि शरीर मार्न सक्छ । द्वन्द्वात्मक अनुभूतिको संरचनामा रचिएको केही अंशः
अन्यायसँग हारेर मान्छेले विचार र शरीर दुवै मार्न विवश हुनु विकृति वा बिरामी हो तापनि कतै कतै कोहीसँग यस्तै हुन्छ (पृ. ९०) ।
निष्कर्ष
प्रस्तुत अधुरो जिन्दगी उपन्यास दिल पौडेलको सामाजिक उपन्यास हो । यस उपन्यासमा प्रेम गर्ने प्रेमीलाई परिवार र समाजले कसरी बाधा पु¥याउँछ र प्रेमिल जोडीलाई मार्नसम्म बाध्यात्मक अवस्था सिर्जना गराउँछ भन्ने चित्रलाई राम्रोसँग उपन्यासमा प्रस्तुत गरिएको छ । सरल जीवनमा जटिल मोडहरु आउँदा त्यसले मानवीय मनोसंरचनामा पु¥याएका असर त्यसबाट उत्पन्न भएका मानवीय क्रियाकलापहरुलाई उस उपन्यासमा चित्रण गरिएका छन् । यस आधारमा समाजमा व्याप्त नारी पुरुष बिचको सहकार्य र द्वन्द्व, विषम अनुभूति, विपरीतगामी अनुभूति, द्वन्द्वात्मक अनुभूति, प्रेमको अनुभूति जस्ता पक्षहरुलाई उपन्यासमा मुख्य स्थान प्रदान गरिएको छ । रोमीका बुबाले प्रेमसम्बन्धी कठोर विचार राखेका र आफ्नो विचारबाट अलिकति पनि विचलन नभएका कारण रवि र रोमीको दुःखान्त विछोडमा उपन्यासको मुख्य भावका रुपमा स्पष्ट हुन्छ । समाजमा वर्गीय चरित्रहरु छन् र त्यसले सामाजिक द्वन्द्वलाई निम्त्याएको छ । त्यसबाट विचलित र भयभीत बनेका मानिसलाई प्रतिबिम्बन गर्ने आशयलाई मूल अनुभूतिको संरचना बनाइएको यस उपन्यासमा बोध हुन्छ । सामाजिक संरचनाका विषमताले गर्दा समाज विषाक्त छ । षड्यन्त्र, हत्या, विभेद, पलायन, अनिर्णय, विचलन, शंका जस्ता कारक तत्वहरुले मानिसलाई तनाव र दबाबको द्वन्द्वात्मक अनुभूतिको संरचनामा पु¥याएका छन् ।
सन्दर्भ सामग्री सूची
पौडेल, दिल. (२०५०). अधुरो जिन्दगी. रुद्र पौडेल. जनकपुरधाम ।
प्रधान, कृष्णचन्द्रसिंह (२०३७). नेपाली उपन्यास र उपन्यासकार. ललितपुरः साझा
प्रकशन ।
बराल, कृष्णहरि र एटम, नेत्र (२०५८). उपन्यास सिद्धान्त र नेपाली उपन्यास. ललितपुरः साझा प्रकाशन ।
श्रेष्ठ, दयाराम र शर्मा, मोहनराज (२०५६). नेपाली साहित्यको सङ्क्षिप्त इतिहास
(चौ.सं.). पुलचोकः साझा प्रकाशन ।
सुवेदी, राजेन्द्र. (२०५३). नेपाली उपन्यास परम्परा र प्रवृत्ति. भारतः भूमिका प्रकाशन ।
सिलवाल, हरिप्रसाद. (सम्पा.). (२०७५). दिलको सृष्टि अध्येताको दृष्टि. .सिन्धुलीः दुधौली साप्ताहिक परिवार ।
सिलवाल, हरिप्रसाद. (२०७५). दिल पौडेलका साहित्यिक कृतिहरुको विश्लेषण. काठमाडौंः सुमिता पौडेल ।